देशभर प्रतिनिधिसभा निर्वाचनको माहोल तातेसँगै राजनीतिक दल र उम्मेदवारहरु मतदाता फकाउन घरदैलो तथा कोणसभामा सक्रिय बनेका छन् । मतदातासमक्ष प्रतिबद्धता, प्रतिज्ञापत्र र वाचापत्र लिएर उम्मेदवारहरु घर–घर पुगिरहेका छन् । यही क्रममा मकवानपुरमा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।
मकवानपुर क्षेत्र नम्बर–२ मा विभिन्न दलका उम्मेदवारहरु मतदाता भेटघाटमा व्यस्त छन् । उनीहरुले आफू विजयी हुने दाबीसमेत गरिरहेका छन् । यसैक्रममा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलाले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । कैलाश गाउँपालिकाका बर्तौला आफ्नो संगठन, सक्रियता र विगतमा गरेको विकासका कामका आधारमा उत्साहित देखिन्छन् ।
आफूले मकवानपुरको विकास र राजनीतिमा महत्वपूर्ण योगदान दिएको दाबी गर्दै बर्तौलाले यस पटक पनि चुनाव जित्ने विश्वास व्यक्त गरेका छन् । “३२ महिनाको संसदीय भूमिकामा तपाईहरुले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा मतदातालाई अपमानित हुने कुनै पनि गलत क्रियाकलाप गरेको छैन,” उनले भने ।
बर्तौलाले आफू निर्वाचित भइसकेपछि सांसदले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गरेको दाबी गर्दै संसदमा कानुन निर्माणमा सक्रिय भूमिका खेलेको बताए । “२४ वटा भन्दा बढी महत्वपूर्ण कानुनमा यहाँका जनताका सुझाव र धारणालाई केन्द्रमा राखेर मैले प्रत्यक्ष रूपमा काम गरेको छु,” उनले भने, “१६ वर्षदेखि टुंगिन नसकेको सशस्त्र विद्रोहसम्बन्धी संक्रमणकालीन न्यायसँग जोडिएको कानुनलाई निष्कर्षमा पुर्याउन पनि मैले महत्वपूर्ण भूमिका खेलेको छु।”
२०७९ सालको निर्वाचनमा बर्तौलाले एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले पराजित गरेका थिए । उक्त निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र समाजवादीको गठबन्धनबाट खतिवडा उम्मेदवार बनेका थिए । बर्तौलाले ३४ हजार ९ सय १६ मत ल्याउँदा खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गरेका थिए । रास्वपाका भरत पराजुलीले १२ हजार ३९ मत र राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत ल्याएका थिए ।







