आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू आन्तरिक जोडघटाउमा सक्रिय भएका छन्। निर्वाचनमा होमिएका दलहरूले कुन प्रदेश र कुन क्षेत्रमा कति सिट जित्न सकिन्छ भन्ने आन्तरिक मूल्याङ्कन गरिरहेका छन्।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रत्यक्षतर्फ ५० सिट जित्ने दाबी गरिरहँदा मकवानपुर भने जित्ने सूचीमा नराखेको तथ्य बाहिर आएको छ। दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा जित निकाल्न मुस्किल हुने निष्कर्षसहित रास्वपाले दुवै क्षेत्रलाई ‘जित्न नसकिने’ सूचीमा राखेको बताइएको छ।
रास्वपाले बागमती प्रदेश का ३३ निर्वाचन क्षेत्रमध्ये १५ सिट जित्ने आन्तरिक दाबी गरेको छ। तर मकवानपुर बाहेक चितवन का तीनै सिट र काठमाडौं का निर्वाचन क्षेत्र नम्बर ३, ६, ७, ८ र ९ लाई ‘जित सुनिश्चित’ सूचीमा राखिएको छ। त्यस्तै काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकका एक–एक सिट, नुवाकोट र धादिङका दुवै निर्वाचन क्षेत्र जित्न सकिने आन्तरिक मूल्याङ्कन गरिएको छ।
मकवानपुर जित्ने सूचीमा नपरेको तथ्य बाहिरिएसँगै रास्वपाका स्थानीय उम्मेदवार र कार्यकर्ता निराश बनेका छन्। रास्वपाले मकवानपुर–१ मा माओवादी पृष्ठभूमिबाट आएका प्रकाश गौतम र मकवानपुर–२ मा ‘बालेनको टिम’सँग जोडिएका भनिएका प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाएको छ।
यता टिकट वितरणमा आर्थिक लेनदेन भएको आरोप लगाउँदै पार्टी सभापति भरत पराजुली, नेता निराजन बर्तौला लगायतले रास्वपा छोडेर कांग्रेस प्रवेश गरिसकेका छन्। अन्य केही नेताहरू पनि पार्टी छोड्ने तयारीमा रहेको बताइएको छ।
रास्वपाले जित्ने दाबी गरेको ५० सिटमध्ये सुदूरपश्चिमका १६ मध्ये ४, कर्णालीका १२ मध्ये १ वा २, लुम्बिनीका २६ मध्ये ११, गण्डकीका १८ मध्ये ८, मधेशका ३२ मध्ये ६ र कोशीका २८ मध्ये ७ सिट जित्ने आन्तरिक अनुमान गरेको छ।







