हेटौंडा/नेकपा एमाले तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेश बर्तौला ले क्षेत्रको दीर्घकालीन भूमि समस्या समाधानका लागि कानूनी सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उनले मकवानपुर–२ मा देखिएको भूमि स्वामित्व र कानूनी जटिलता समाधानलाई प्राथमिकतामा राख्ने बताएका हुन्।
बर्तौलाले मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन, पीडितलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था तथा मध्यवर्ती क्षेत्रको सिमाना हेरफेरका लागि पहल गर्ने जनाए। पूर्वाधार विकासअन्तर्गत खानेपानी तथा सिँचाइ आयोजना, कृषि र सञ्चार पूर्वाधार, वस्ती संरक्षणका लागि तटबन्धन, सडक तथा पुल निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
उनले रूपचन्द्र विष्ट मार्ग (मनहरी–राक्सिराङ–कैलाश–थाहा जोड्ने सडक) निर्माणलाई गति दिने, साथै स्वास्थ्य सेवामा नागरिकको सहज र सरल पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कृषि क्षेत्रमा ‘खोरेतमुक्त मकवानपुर’ अभियानमार्फत दुग्धजन्य तथा मासुजन्य उत्पादनको बजार विस्तार, बाँदर, बँदेल, मृग, दुम्सी लगायत वन्यजन्तुबाट हुने बाली क्षतिमा न्यायोचित क्षतिपूर्ति र नियन्त्रणका लागि कानूनी तथा संरचनागत व्यवस्था गर्ने उल्लेख छ।
रोजगार र स्वरोजगार सिर्जनाका लागि सहकारी, कृषि र वन स्रोतको परिचालन, राक्सिराङ–कैलाश गाउँपालिका समृद्धि विशेष कार्यक्रम सञ्चालन, तथा उत्तरी मकवानपुरका थाहा, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका समेटेर पर्यटन सर्किट निर्माण गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्। शिक्षा, युवा तथा खेलकुदतर्फ ‘एक पालिका, एक आवासीय विद्यालय’, ‘पढ्दै–कमाउँदै’ कार्यक्रम, मदन भण्डारी क्षेत्रीय रंगशाला (मनहरी) निर्माण र युवा उद्यमलाई प्रोत्साहन गर्ने कार्यक्रम समेटिएका छन्। साथै, चेपाङ विकास कार्यक्रम सञ्चालन, लागुऔषध दुव्र्यसन नियन्त्रण, समावेशी मानव अधिकार संरक्षण र संसदीय निर्वाचन क्षेत्र विकास कार्यक्रम लागू गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
घरदैलो सकिएपछि एमालेको दाबी: दुवै क्षेत्रमा जित सुनिश्चित
प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार अवधि अन्त्यतर्फ जाँदै गर्दा एमाले मकवानपुरले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ। पार्टीका जिल्ला नेताहरूका अनुसार घरदैलो, कोणसभा र जनभेटघाटका क्रममा मतदाताबाट उत्साहजनक समर्थन प्राप्त भएको छ।
एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ दुवैमा पार्टी उम्मेदवारप्रति जनलहर देखिएको दाबी गरे। उनका अनुसार क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर राना शालिन र सादगी नेता भएकाले अन्य दलका मतदाताको समेत समर्थन पाउने अवस्था बनेको छ। क्षेत्र नम्बर–२ मा अघिल्ला निर्वाचनको परिणाम र पछिल्लो राजनीतिक समीकरणका आधारमा एमाले अग्रस्थानमा रहेको दाबी गरिएको छ।
यसअघि पाँच दलीय गठबन्धनका उम्मेदवारलाई ४ हजार ५२० मतान्तरले पराजित गर्दै निर्वाचित भएका बर्तौला पुनः मकवानपुर–२ बाट उम्मेदवार बनेका हुन्। जितपछि सुकुम्बासीलाई लालपुर्जा दिलाउने, मध्यवर्ती क्षेत्रका समस्या समाधान र जिल्लाका मुद्दा सदनमा उठाएको भूमिकाका कारण मतदाताको विश्वास कायम रहेको एमाले नेताहरूको भनाइ छ। एमालेले “स्थिर सरकार, विकास र समृद्धि” लाई मुख्य चुनावी नारा बनाएर सूर्य चिह्नमा मतदान गर्न आह्वान गरेको छ।







