सन् २०२६ को विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप फुटबल २०२६ मा इरानको सहभागितालाई लिएर आफूलाई कुनै चासो नभएको बताएका छन्।अहिले अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरिरहेका छन् भने इरानले पनि खाडी देशमाथि हमला गरेर जवाफ दिइरहेको छ। यसले गर्दा यी देशबीच तनाव उत्कर्षमा पुगेको छ।
इरान लगातार चौथो पटक विश्वकपका लागि छनोट भएको छ। खेल तालिका अनुसार इरानले समूहका ३ खेलनै अमेरिकामा खेल्दैछ। उसले लस एन्जलसमा न्युजिल्यान्ड र बेल्जियमसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल सियाटलमा इजिप्टसँग खेल्ने तय भएको छ।गत वर्ष अमेरिकाले इरानका ३ वटा आणविक केन्द्रहरूमा बमबारी गर्दा पनि इरानले विश्वकपबाट नाम फिर्ता लिएको थिएन।
‘पोलिटिको’ पत्रिकासँग कुरा गर्दै ट्रम्पले भने, ‘इरानले खेल्ने कुरामा मलाई साँच्चै कुनै चासो छैन। इरान एउटा नराम्ररी पराजित भइसकेको देश हो। ऊ अहिले निकै कमजोर अवस्थामा छ।’
तर अहिलेको गम्भीर परिस्थितिका कारण इरानको फुटबल संघका प्रमुख मेहदी ताजले यस पटकको सहभागिताबारे शंका व्यक्त गरेका छन्। उनले इरानी टेलिभिजनसँग कुरा गर्दै अहिलेको अवस्थामा विश्वकप खेल्ने कुरा आफूहरूको अपेक्षाभन्दा टाढा रहेको बताएका छन्। इरानको खेलकुद मन्त्रालयले यसबारे अन्तिम निर्णय लिने उनले बताए।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले सबैको सहभागितामा विश्वकप सुरक्षित रुपमा आयोजना गर्नु नै आफूहरूको मुख्य ध्यान रहेको बताएका छन्।







