आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताएका छन् ।
निर्वाचन सुरक्षा व्यवस्थापनका विषयमा जानकारी दिँदै उनले चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीमाथि कडा रूपमा बल प्रयोग गरिने चेतावनी दिएका हुन् ।
गृह मन्त्रालयको नेतृत्वमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको कार्कीले जानकारी दिए । उनका अनुसार अहिले चारवटै सुरक्षा निकायले आ–आफ्नो स्थानबाट सूचना संकलन गर्ने, त्यसको विश्लेषण गर्ने र सम्भावित चुनौतीहरूको मूल्यांकन गर्दै संयुक्त रूपमा काम गरिरहेका छन् । निर्वाचन गराउन आवश्यक पर्ने सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको र देशैभरका सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी पुगिसकेको उनले बताए ।
मौन अवधिको समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक सूचना फैलाउने वा आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने उनले चेतावनी दिए। यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले सूक्ष्म रूपमा निगरानी गरिरहेको र कानुन विपरीत काम गर्नेलाई एकीकृत ढंगले कारबाही अगाडि बढाइने उनले बताए ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाको समग्र सुरक्षा व्यवस्थापन हुने भन्दै उनले मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी रहने जानकारी दिए। यदि कुनै स्थानमा परिस्थिति जटिल बनेमा तत्काल मद्दतका लागि सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने गरी चुस्त व्यवस्था मिलाइएको उनको भनाइ छ। चुनावलाई अशान्त बनाएर बुथ नै रद्द गराउने जस्ता नियत राख्ने समूहलाई निस्तेज पार्न सुरक्षाकर्मी पूर्ण रूपमा तयार रहेको उनले बताए ।
निर्वाचनको दिन सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिने र कुनै पनि अवाञ्छित गतिविधि गर्नेलाई छुट नदिइने कार्कीले स्पष्ट पारेका छन्। मतदान केन्द्रमा कसैलाई धम्काउने, डरत्रास देखाउने वा बुथ कब्जा गर्ने जस्ता गतिविधि गरेमा तत्काल कानुनी रूपमा बल प्रयोग गर्ने अधिकार खटिएका सुरक्षाकर्मीलाई दिइएको उनले बताए ।







