नेपालको राजनीतिक परिदृश्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय र छोटो समयमै प्राप्त लोकप्रियता एउटा रोचक विषय बनेको छ। सन् २०२२ को आम निर्वाचनदेखि हालसम्म रास्वपाले नेपाली जनता, युवा पुस्ता,सहरी मतदाताहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको ध्यान तान्न सफल भएको छ।नेपाली राजनीतिमा ‘घण्टी’ को बाजा र समर्थन तिब्र गतिमा बढेको देखिन्छ |
नेपालका पुराना र स्थापित राजनीतिक दलहरूले दशकौंसम्म सत्ता सम्हाल्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो व्यापक भइरहेका बेला ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ (रास्वपा) एउका बलियो विकल्पका रूपमा उदायो। रवि लामिछानेको नेतृत्वमा गठन भएको यो दलले छोटो समयमै जुन जनसमर्थन पाएको छ, त्यसका पछाडि मुख्य केही कारणहरू रहेका छन्।
१. पुराना दलहरूप्रति चरम वितृष्णा
नेपाली राजनीतिमा ‘टेस्टेड’ नेताहरू र तिनीहरूको कार्यशैलीबाट जनता आजित भएका छन्। भ्रष्टाचार, ढिलासुस्ती र नातावादका कारण आम मानिसमा परम्परागत शक्तिहरूप्रति विश्वास घटेको छ। यही रिक्ततालाई रास्वपाले ‘विकल्प’ को नारा दिएर भर्न सफल भएको छ।
२ . बालेन: ‘असम्भव छ’ भन्ने भाष्यको अन्त्य
बालेन शाहले ठूला भनिएका दलका स्थापित उम्मेदवारलाई पराजित गरेपछि आम जनतामा एउटा विश्वास जाग्यो— “बिना संगठन पनि चुनाव जित्न सकिन्छ।” यही मनोवैज्ञानिक आत्मविश्वासको सबैभन्दा ठूलो फाइदा रास्वपालाई भयो। बालेन रास्वपामा जोडिदा देशभरि चर्को जनलहर परिबर्तनको पक्षमा बनेको छ|
३. युवा र नयाँ अनुहारको आकर्षण
रास्वपाले संसद्मा पठाएका प्रतिनिधिहरू प्रायः युवा र विभिन्न पेशागत क्षेत्र (डाक्टर, इन्जिनियर, पत्रकार) मा दख्खल राख्ने व्यक्तिहरू छन्। “पुरानालाई सम्मान, नयाँलाई स्थान” भन्ने नाराले विदेशिएका र स्वदेशमै रहेका युवाहरूलाई आकर्षित गरेको छ।
४. प्रविधिको प्रयोग र प्रत्यक्ष संवाद
रास्वपाले परम्परागत आमसभाभन्दा पनि सामाजिक सञ्जाल र डिजिटल माध्यमलाई बढी प्राथमिकता दिएको छ। जनताका समस्यालाई प्रत्यक्ष सुन्ने र तत्कालै सदनमा आवाज उठाउने उनीहरूको शैलीले आम मानिसलाई “आफ्नो प्रतिनिधिले बोलिरहेको छ” भन्ने अनुभूति दिलाएको छ।
५. डेलिभरीमा जोड (Service Delivery)
राहदानी विभाग, लाइसेन्स कार्यालय र अस्पतालहरूमा हुने भीडभाड र सास्ती कम गर्न रास्वपाका मन्त्री र सांसदहरूले देखाएको सक्रियताले जनतामा एउटा आशा जगाएको छ। “हामी काम गर्न आएका हौं” भन्ने सन्देश दिन उनीहरू सफल देखिएका छन्।
६. पपुलिस्ट एजेन्डा र स्पष्ट वक्ता
पार्टी सभापति रवि लामिछानेको आक्रामक र स्पष्ट बोल्ने शैलीले एउटा ठूलो समर्थक वर्ग सिर्जना गरेको छ। आम सर्वसाधारणले बुझ्ने भाषामा समस्याहरूको उठान गर्नाले उनीहरूलाई सर्वसाधारणको “मसिहा” को रूपमा स्थापित गर्न मद्दत पुर्याएको छ।
विज्ञको मत: “नेपालमा लोकतन्त्र आए पनि त्यसको प्रतिफल तल्लो तहसम्म नपुग्दा जनताले नयाँ शक्ति खोजिरहेका थिए। रास्वपाले त्यही मनोविज्ञानलाई समातेको छ। तर, यो लोकप्रियता टिकाइराख्न उसले नीतिगत स्पष्टता र आन्तरिक सुशासनमा ध्यान दिनु जरुरी छ।”








