राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले जनता समक्ष गरेका बाचालाई पुर्णरुपमा पालना गरेर अघि बढ्ने बताएका छन् ।
चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी भएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिए पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेबारी प्रदान गरेकोले आगामी दिनमा सम्हालिएर नआत्तिकन अघि बढ्ने बताए ।
सभापति लामिछानेले नागरिकका आम अपेक्षाका बारेमा आफू जानकार रहेको भन्दै सबैलाई समेटेर अगाडि बढ्ने बताए । उनले यो तहको नतिजा आफूहरूको पक्षमा आएकोमा खुसी भएको भन्दै जनताले चाहेका विषयहरुबारे सम्वादमै रहेको बताए ।
उनले जनताको अपेक्षा अनुसार काम गर्न नसके आफूहरूको अवस्था पनि अहिलेका केही दलहरूको जस्तो हुनेमा पुर्ण सचेत रहेको बताए । ‘आगामी बाटो सहज छैन, तर असम्भव पनि छैन, मात्तिएर, आत्तिएर हैन सम्हालिएर सुझबुझ तरिकाले जान्छौं,’ सभापति लामिछानेले भने, ‘फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं ।’
उनले विजयी भएपछि हौसिएर उत्तेजित भई कसैलाई पनि नराम्रो व्यवहार नगर्न र जहिल्यै अरुको सम्मान गर्न आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेकाछन।







