नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि हारको जिम्मेवारी लिँदै उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।
पोखरेलले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामाको घोषणा गरेका हुन्। उनले नेकपा माले हुँदै एमालेसम्मको आफ्नो ४५ वर्षे राजनीतिक यात्रामा अहिले पार्टीले भोग्नुपरेको परिणामबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
उनले लेखेका छन् कि निर्वाचन परिणामको वास्तविक कारण पहिचान नगरी गोलमटोल भाषामा मात्र प्रतिक्रिया दिने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिले समस्याको समाधान सम्भव नहुने बताए।
पोखरेलले पार्टीभित्र तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आ–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। पार्टीलाई सही दिशामा अघि बढाउन अध्यक्षदेखि महासचिवसम्म सबै नेतृत्वले जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्ने र आवश्यक परे राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ।
“पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्छ,” उनले उल्लेख गरेका छन्।
यसै सन्दर्भमा उनले आजकै दिनदेखि लागू हुने गरी मकवानपुर एमाले अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
पोखरेलले अब आउने युवा पुस्तालाई आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाएका छन्। नयाँ पुस्ताले पार्टीलाई सही दिशा र ढंगबाट अघि बढाउने विश्वास व्यक्त गर्दै उनले आजसम्म प्राप्त सहयोग, माया र सद्भावप्रति सबैलाई धन्यवाद दिएका छन्।
साथै उनले जनमतको सम्मान गर्दै प्रतिनिधिसभामा निर्वाचित सबै उम्मेदवारहरूलाई शुभकामना व्यक्त गरेका छन्।
उनी अस्वस्थ भएका कारण यसपटकको चुनावी अभियान तथा पार्टीका गतिविधिमा सक्रिय रूपमा सहभागी हुन नसकेको पनि जनाइएको छ।








