प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रशान्त उप्रेती विजयी हुनुभएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ३० हजार ०५० मतसहित निर्वाचित हुनुभएको हो । अन्तिम मतपरिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार महेशकुमार बर्तौलाले १९ हजार ६२४ मत, नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ४२६ मत, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्टले १२ हजार ७५४ मतमात्र प्राप्त गर्नुभएको छ ।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रनुभएका उप्रेतीले उल्लेखनीय मतान्तरसहित जीत हासिल गर्नुभएको हो।
वि.सं. २०५७ साल जेठ १० गते मकवानपुरमा जन्मनुभएका उप्रेती पेसाले पर्यटन उद्यमी हुनुहुन्छ। पर्यटन व्यवस्थापनमा स्नातक गर्नुभएका उहाँ हाल स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ। अध्ययनसँगै होटल तथा पर्यटन क्षेत्रमा सक्रिय रहँदै आउनुभएका उप्रेती स्थानीय स्तरमा परिचित व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।
उहाँका अनुसार प्रशासन अध्ययन तथा सामाजिक अनुभवका क्रममा राज्यका नीतिप्रति असन्तुष्टि बढेपछि सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो। देशको नीति सही भए नागरिकको जीवन सहज हुने विश्वासका साथ आफू निर्वाचनमा होमिएको उहाँको भनाइ छ।
चुनावी अभियानका क्रममा उप्रेतीले गाउँ–गाउँ र बस्ती–बस्ती पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। अभियानका क्रममा प्राप्त भएको माया, सम्मान र विश्वासले आफूलाई थप जिम्मेवार बनाएको उहाँले बताउनुभएको छ।
उहाँले युवाहरू रोजगारीको खोजीमा विदेशिनु, गाउँहरू सुनसान हुनु र देशमा निराशा बढ्नु वर्तमानका मुख्य चुनौती भएको उल्लेख गर्नुभयो।
उप्रेतीले भूमि समस्या समाधान, शिक्षा र सीपलाई रोजगारीसँग जोड्ने नीति, कृषि आधुनिकीकरण, पर्यटन विकास, महिला सशक्तीकरण तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ। साथै चित्लाङ–दामन–मार्ख–राक्सिराङ–मनहरी क्षेत्रलाई जोड्ने पर्यटन कोरिडोर विकास गर्ने योजना पनि अघि सार्नुभएको छ।
विजयपछि उहाँले आफ्नो उम्मेदवारी पदका लागि नभई जनताको आवाज संसदसम्म पुर्याउने उद्देश्यले रहेको बताउनुभएको छ। “मेरो उम्मेदवारी पदका लागि होइन, तपाईंको आवाज संसदमा पुर्याउनका लागि हो,” उहाँले भन्नुभयो।







