प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रकाश गौतम विजयी हुनुभएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ३६ हजार ०३३ मतसहित निर्वाचित हुनुभएको हो । अन्तिम मतपरिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार रामेश्वर रानाले १२ हजार ७८३ मत, नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ०३८ मत, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम १० हजार ७८८ मतमात्र प्राप्त गर्नुभएको छ ।
हेटौंडा उपमहानगरपालिका–५ निवासी ३७ वर्षीय गौतमले सुरुदेखि नै अग्रता कायम राख्दै पहिलो संसदीय यात्रामै विजय हासिल गर्नुभएको हो।
काठमाडौंबाट स्नातक उत्तीर्ण गर्नुभएका गौतम पेसाले होटल व्यवसायी हुनुहुन्छ। स्कुले जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका उहाँ द्वन्द्वकालदेखि विभिन्न गतिविधिमा संलग्न रहँदै आउनुभएको थियो। हाल भने उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत औपचारिक रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो।
गौतम हाल राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका कार्यवाहक सभापति समेत हुनुहुन्छ। प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा पार्टीका सभापति भरत पराजुली नेपाली कांग्रेस मा प्रवेश गरेपछि उहाँले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो। यसअघि उहाँ पार्टीको उपसभापति पदमा रहनुभएको थियो।
यसैबीच, प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि उहाँले जनताले दिएको विश्वासलाई सम्मान गर्दै इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हामीले जनतासँग गरेको वाचापत्र अनुसार अगाडि बढ्ने साथै,
“जनताले विश्वास गरेर जिताएका छन्, अब त्यही अनुसार इमान्दार भएर काम गर्नुपर्छ,” उहाँले भन्नुभयो।








