धनुषा-१ सोमबार नेपाल कम्युनिस्ट पार्टीको निर्वाचन परिचालन समितिका सचिव गोविन्द आचार्यले विज्ञप्ती सार्वजनिक गरी धनुषा-१ मा मत गणना सम्पन्न भई नेकपा उम्मेदवार मातृका यादव निर्वाचित हुँदा पनि निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्ष्ण भएको जनाएका छन्।
धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको थियो।
मतगणनाको क्रममा उम्मेदवारी खारेज भएका किशोरीकै पक्षमा मत आएको थियो। त्यसपछि निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएर अदालतबाट आदेश नहुँदासम्म उक्त क्षेत्रको पहिलो हुने निर्वाचन प्रणाली तर्फको मतपरिणाम घोषणा नगर्न भनेको थियो।
नेकपाले धनुषा-१ मा १० हजार ४३० मतसहित आफ्नो उम्मेदवार मातृका यादव विजयी भएको दाबी गरेको छ। ‘निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको स्पस्ट निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरुको उपस्तिथिमा मतगणनासमेत भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन बिलम्ब गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरितका काम हुनु सोचनीय विषय हो। कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको स्थितिमा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन,’ नेकपाले विज्ञप्तीमा भनेको छ। नेकपाले निर्वाचन आयोगलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरेको छ। न्यायपालिकाले पनि कानुन र विधिसम्मत ढंगले निर्णय गर्ने नेकपाले विश्वास व्यक्त गरेको छ।







