हेटौंडा । मकवानपुर जिल्लाका ३४ जना उम्मेदवारले सदर मतको १० प्रतिशत पनि मत कटाउनु नसक्दा धरौटी जफत भएको छ ।
२१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ नम्बर क्षेत्रका १८ जना र २ नक्बर क्षेत्रका १६ जना उम्मेदवारको धरौटी जफत भएको हो । धरौटी जफत हुनेमा १ नम्बर क्षेत्रबाट अघिल्लो निर्वाचन जितेका राप्रपाका दीपकबहादुर सिंह पनि रहेका छन् । उनले सदर मतको १० प्रतिशत कटाउन सकेनन जम्मा ४५७४ मत मात्रै पाएका छन। उनले अघिल्लो निर्वाचनमा २७ हजारभन्दा बढी मत पाएका थिए ।
१ नम्बर क्षेत्रमा १३ राजनीतिक दल र १० स्वतन्त्र गरी जम्मा २३ जना उम्मेदवारबीच निर्वाचनमा प्रतिस्पर्धा भएको थियो । विजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (राास्वपा)का प्रकाश गौतमसहित पाँचजनाले मात्रै आफ्नो धरौटी जोगाएका छन् । नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना, नेकपा एमालेका रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का विजय गौतम र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले धरौटी जोगाउन सकेका छन्।
१ नम्बर क्षेत्रका ११ जना उम्मेदवारले ५० मतसमेत कटाउन सकेनन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा कुल ९५ हजार ३ सय १० मत खसेको थियो । त्यसमध्ये ९० हजार ७ सय २५ मत मात्रै सदर भएको थियो ।
यसैगरी, २ नम्बर क्षेत्रमा कुल ९१ हजार २ सय ४१ मत खसेकोमा ८५ हजार ६ सय १९ मत सदर भएको थियो । यस क्षेत्रमा १६ राजनीतिक दल र ५ स्वतन्त्र गरी २१ जनाबीच प्रतिस्पर्धा भएको थियो । रास्वपाका प्रशान्त उप्रेती (विजयी), नेकपा एमालेका महेश बर्तौला, नेपाली कांग्रेसका बुद्ध लामा, नेकपाका लवशेर विष्ट र उज्यालो नेपाल पार्टीका प्रवीणकुमार स्याङ्तानले धरौटी जोगाउन सफल भएका छन् ।
कुल सदरमतको १० प्रतिशत मत कटाउनु नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थामा रहेको छ । धरौटी जफत हुँदा उम्मेदवारी दर्ता गर्दा बुझाएको १० हजार रुपैयाँ राज्यकोषमा स्वत जाने व्यवस्था छ ।







