मकवानपुरको विकट क्षेत्र मानिने कैलाश गाउँपालिका मा १० शैयाको अस्पताल निर्माण भई सञ्चालनमा आएको छ। गाउँपालिकाको केन्द्र कालिकाटारमा निर्माण भएको विपी स्मृति कैलाश आधारभूत अस्पतालको उद्घाटन बुधबार इन्द्रबहादुर बानियाँ ले गर्नुभएको हो।
संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैयाँ लागतमा करिब चार वर्ष लगाएर अस्पताल भवन निर्माण गरिएको हो। आशिष/आर्शिवाद/स्वामी नारायण जेभीसँग २०७८ जेठ २७ गते निर्माण सम्झौता भएको उक्त भवन २०८२ असारमा सम्पन्न भएपछि बुधबारबाट औपचारिक रूपमा सेवा सुरु गरिएको जनाइएको छ।
अढाई तल्ले अस्पताल भवनबाट विभिन्न विशेषज्ञ सेवासहित एक्स–रे, प्रयोगशाला, भिडियो एक्स–रे, इसिजी लगायतका सेवा उपलब्ध हुने बताइएको छ। कैलाश गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार अस्पतालमा २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी रहनेछ। तर हालसम्म भने स्वास्थ्य चौकीको दरबन्दी मात्रै रहेको जानकारी दिइएको छ।
अस्पतालबाट इमरजेन्सी सेवासहित स्त्रीरोग, बालरोग, दन्तरोग, छालारोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला लगायतका सेवा उपलब्ध गराइनेछ। गाउँमै अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि हेटौँडा वा भरतपुर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिका केन्द्रमै अस्पताल स्थापना भएपछि स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्ने र गाउँमै गुणस्तरीय सेवा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
अस्पतालबाट गाउँपालिकाका १० वटै वडा तथा राक्सिराङ गाउँपालिका का केही वडाका स्थानीयले समेत सेवा लिन सक्ने जनाइएको छ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री बानियाँले संघीय शासन प्रणाली लागू भएपछि गाउँ–गाउँमा सडक, स्वास्थ्य लगायतका पूर्वाधार विस्तार हुँदै गएको उल्लेख गर्नुभयो। गणतन्त्रले विशेषगरी निम्न वर्गीय नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने लक्ष्य लिएको उहाँको भनाइ थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठ, वडा नम्बर–२ का अध्यक्ष राजेन्द्र घिसिङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
गाउँपालिकाका अध्यक्ष मुक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालको जग्गादाता तथा भवन निर्माण व्यवसायीलाई सम्मानसमेत गरिएको थियो।







