हेटौंडामा जारी बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत पहिलो दिन जिल्लास्तरीय महिला तथा पुरुष १० किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार बिहान आयोजित प्रतियोगितामा पुरुषतर्फ राक्सिराङ–१ का सुवास हेम्जन प्रथम भएका छन्। उनले अन्य २२ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेका थिए।
पुरुषतर्फ मनहरी–८ का सन्दिप विक द्वितीय र बकैया–८ का राजकुमार गोले तृतीय बने।
महिलातर्फ भने हेटौंडा–१३ की साधना लोप्चनले पहिलो स्थान हासिल गरिन्। उनले अन्य ६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्। महिलातर्फ हेटौंडा–१३ कै अमृता मोक्तान द्वितीय, हेटौंडा–४ की सुविना गोले तृतीय र राक्सिराङ–१ की निलिमा थिङ सान्त्वना भइन्।
प्रतियोगितामा दुवै विधातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २० हजार, १० हजार, ५ हजार र १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको महोत्सवअन्तर्गत विभिन्न ६ विधामा खेलकुद प्रतियोगिता सञ्चालन हुने जनाइएको छ। समितिका अध्यक्ष राजकुमार मोक्तानका अनुसार दौड प्रतियोगितामार्फत इच्छुक खेलाडीको पहिचान गर्दै खेलकुद क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्य राखिएको छ।
यसैबीच शुक्रबारदेखि जिल्लास्तरीय डबल्स ब्याड्मिन्टन प्रतियोगिता पनि सुरु भएको छ। हेटौंडा–११ थानाभर्याङस्थित कभर्ड हलमा आयोजित प्रतियोगिताको उद्घाटन मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा खेलकुदप्रेमी अरुणराज सुमार्गीले गरेका हुन्।
ब्याड्मिन्टन प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वना हुने टोलीले ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य मदन उप्रेतीले जानकारी दिए।
हेम्जन र लोप्चनलाई १० किमि खुला दौडको उपाधि
हेम्जन र लोप्चनलाई १० किमि खुला दौडको उपाधि
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







