हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा रहेका टोल विकास संस्थाहरूको संयुक्त बैठक विभिन्न महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ। बैठकमा वडाभित्रका विकास, सरसफाइ तथा संस्थागत सुदृढीकरणका विषयमा सात वटा निर्णय गरिएको हो।
बैठकले वडाभित्र रहेका सबै सडकलाई सरसफाइ गर्दै कच्ची सडक, खाल्डाखुल्डी तथा हिलो–धुलोमुक्त बनाउने लक्ष्यसहित वडा कार्यालयको योजना २०८२ सालभित्र कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको छ।
त्यस्तै, आगामी फागुन १२ गते वडा नं. ४ कार्यालयको आयोजनामा र टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा “भान्सा नै औषधालय” कार्यक्रम वडा भित्रका सबै टोल विकास संस्थाको सहभागितामा सञ्चालन गर्ने निर्णय भएको छ।
बैठकले वडा कार्यालयको समन्वयमा सञ्चालन भइरहेका निःशुल्क मन्टेश्वरी तथा कुक तालिममा सूचनामा तोकिएका मापदण्डअनुसार प्रशिक्षार्थी सहभागी गराउने निर्णय पनि गरेको छ। साथै, आगामी वैशाख महिनामा टोल विकास संस्थाहरूको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, निर्माणाधीन रजत जयन्ती रोडको अधुरो काम अगाडि बढाउन सम्बन्धित निर्माण व्यवसायी तथा सरोकारवाला कार्यालयसँग पहल गर्ने सहमति गरिएको छ।
बैठकले टोल सरसफाइ तथा टोलमा देखिएका स–साना समस्याको समाधानका लागि सबै टोल विकास संस्थाले आफ्नो कार्यक्षेत्रमा अध्ययन गरी पहल गर्ने निर्णय पनि गरेको छ। साथै, अवधि पुगेका तर साधारणसभा गर्न बाँकी रहेका टोल विकास संस्थाहरूलाई तत्काल साधारणसभा आयोजना गर्न आग्रह गरिएको छ। वडा नं. ४ मा हाल २६ वटा टोल विकास संस्था रहेका छन्।
बैठकमा वडा अध्यक्ष नवीन सिग्देल, वडा सदस्य गीता त्रिपाठी, सदस्य जगन्नाथ पाण्डे, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, महासचिव शिवहरी दाहाल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी तथा वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईं सहभागी थिए। साथै वडाभित्र रहेका टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।








