नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ २० जनाको नाम सिफारिस गरेको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ महिलासहित २० जनाको नाम सिफारिस गरेको हो।
दलित महिला कोटाबाट मकवानपुरकी दलित महिला अधिकारकर्मी तथा कांग्रेस महाधिवेशन प्रतिनिधि पवित्रा विश्वकर्माको नाम पनि सिफारिस गरिएको छ। दलित कोटाबाट हरिनादेवी कामी र मानबहादुर नेपालीको नामसमेत सिफारिसमा परेको छ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार निर्वाचन आयोगले दिएको ढाँचा र प्रचलित कानुनअनुसार समानुपातिकतर्फ सांसद निर्वाचित गराउनका लागि नाम सिफारिस गरिएको हो।
खसआर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुननरसिंह केसीको नाम सिफारिस गरिएको छ। त्यस्तै आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बेको नाम सिफारिस गरिएको छ।
मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव, थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार तथा मुस्लिम कोटाबाट शाहजान खातुनको नाम सिफारिस गरिएको छ।
कांग्रेसले सिफारिस गरेका नामहरू कानुनबमोजिम भए नभएको परीक्षण गरेपछि निर्वाचन आयोगले अन्तिम रूपमा सांसद निर्वाचित गराउनेछ।







