बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा तथा शाखा प्रमुखहरूलाई शून्य सहनशीलताको नीति अपनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
मन्त्रालयमा आयोजित समीक्षा बैठकमा महाशाखा प्रमुखहरूले प्रस्तुत गरेको पछिल्लो प्रगति प्रतिवेदनको समीक्षा गर्दै मन्त्री थापाले मन्त्रालयको वार्षिक योजना अनुसारका काम कुनै पनि कारणले रोकिन नहुने स्पष्ट पारे। उनले विकास निर्माण, सेवा प्रवाह तथा नीतिगत कार्यहरू समयमै सम्पन्न गर्न कर्मचारीहरूलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न आग्रह गरे।
मन्त्री थापाले सरकारको काम कागजमा मात्र सीमित नभई जनताले दैनिक जीवनमा परिवर्तन महसुस गर्न सक्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए। “सरकारको काम कागजमा मात्रै सीमित हुन हुँदैन, जनताले दैनिक जीवनमा परिवर्तन अनुभूति गर्नुपर्छ,” उनले भने।
उनले सेवा प्रवाहमा ढिलासुस्ती, अनियमितता वा लापरबाही कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै कर्मचारीहरूलाई पारदर्शिता, इमानदारी र उत्तरदायित्वका साथ काम गर्न निर्देशन दिए।
बैठकमा प्रस्तुत प्रगति विवरणका आधारमा मन्त्रालयका कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने, रोजगारी सिर्जना गर्ने तथा यातायात क्षेत्रको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो।
मन्त्री थापाले जनअपेक्षा र समयको मागअनुसार मन्त्रालयका कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै तहका कर्मचारीलाई सक्रिय, समन्वयात्मक र जनमुखी ढंगले काम गर्न आग्रह गरे।







