नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाले पार्टी पंक्ति एकताबद्ध भएर वर्तमान चुनौतीहरूको सामना गर्नुपर्ने बताएका छन्। बागमती गाउँपालिकामा आयोजित समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले एमालेविरुद्ध भ्रम सिर्जना गर्न अन्तर्राष्ट्रिय शक्तिहरू सक्रिय रहेको आरोप लगाए।
रानाले राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र विकास–समृद्धिको पक्षमा दृढतापूर्वक उभिएको एमालेमाथि प्रहार भइरहेको दाबी गरे। उनले निर्वाचन परिणाम अनुकूल नभए पनि पार्टीका पक्षमा सक्रिय रूपमा खटिएका नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिँदै निरन्तर रूपमा देश, जनता र पार्टीको हितमा लागिरहन आग्रह गरे।
कार्यक्रममा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलन संकटमा परेको उल्लेख गर्दै परिवर्तनकारी आन्दोलनको नेतृत्व गरिरहेको एमालेमाथि निरन्तर आक्रमण भइरहेको बताए। उनले जनस्तरमा फैलाइएका भ्रम चिर्न अझ सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
बैठकमा प्रदेश कमिटी सदस्य छिरिङदोर्जे पाख्रिन, जिल्ला सचिव सीता विष्टलगायत नेताहरूले निर्वाचनको समीक्षा प्रस्तुत गरेका थिए। पालिका कमिटी अध्यक्ष नरबहादुर घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी उपसचिव आरती पाठक, जिल्ला सचिवालय सदस्य जयबहादुर वाइवालगायतको उपस्थिति रहेको थियो।
यसैगरी, पालिकाका नौवटै वडाबाट प्रतिनिधिहरूले निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए।








