हेटौंडा/ ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं । राष्ट्रिय अभियान हाम्रो योगदान’ भन्ने मूल नारासहित बागमती प्रदेशको राजधानी हेटौंडामा विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ।
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा मकवानपुरको आयोजनामा प्रभातफेरी कार्यक्रम निकाल्दै दिवस मनाइएको हो। उक्त कार्यक्रममा हेटौंडा–४ स्थित आमसाई स्कुलका विद्यार्थीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
दिवसकै अवसरमा संस्थाले बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको थियो। कार्यक्रममा मन्त्री वादेले क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क उपलब्ध भएकाले समयमै पहिचान गरी उपचारमा लाग्न सबैलाई आग्रह गरे।
उनले धुम्रपान तथा मद्यपान नगर्ने, पोषणयुक्त आहार सेवन गर्ने, बालबालिकालाई समयमै बीसीजी खोप लगाउने तथा संक्रमण फैलिन नदिन सचेत रहनुपर्नेमा जोड दिए। लगातार खोकी लाग्ने, खोकीमा रगत देखिने, अस्वाभाविक रूपमा तौल घट्ने, फोक्सोमा दुखाइ हुने र ज्वरो आउने जस्ता लक्षण देखिएमा तुरुन्त परीक्षण गर्न उनले अनुरोध गरे।
श्वासप्रश्वासमार्फत सजिलै सर्ने क्षयरोग मधुमेह, एचआईभी, मृगौला प्रत्यारोपण गरेका तथा क्यान्सरजस्ता रोगका कारण प्रतिरक्षा क्षमता कमजोर भएका व्यक्तिमा छिटो संक्रमण हुने जोखिम रहेको पनि उनले बताए।
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा मकवानपुरका अध्यक्ष सजनलाल प्रधानको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा संस्थाका सल्लाहकार ज्योतीरत्न बज्राचार्य, विजेन्द्र अग्रवाल लगायतको उपस्थिति रहेको थियो। संस्थाका सचिव गंगाप्रसाद पौडेलले कार्यक्रमबारे जानकारी दिएका थिए।








