कवानपुरको राक्सिराङ गाउँपालिकाले नागरिकलाई गाउँपालिकासम्म धाउनुपर्ने बाध्यता हटाउँदै वडा-स्तरमै सेवा सुविधा पुर्याउने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ। गाउँपालिकाले आज वडा नम्बर १ बाट कार्यक्रमको सुरुवात गरेको हो।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार यो अभियान तेस्रो चरणको रूपमा आजबाट सुरु गरिएको हो। “जनताले सकेसम्म आफ्नै वडाबाट सेवा पाउनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो,” अध्यक्ष मल्लले बताउनुभयो।
शिविरअन्तर्गत स्वास्थ्य शिविर, निःशुल्क आयुर्वेदिक सेवा, बहुक्षेत्रीय पोषण कार्यक्रम, तथा सुनौला हजार दिन लक्षित गर्भवती र सुत्केरी आमाहरूलाई स्वच्छतासम्बन्धी सामग्री र तरकारीको बिउ वितरण गरिएको थियो। साथै, अपाङ्गताको पहिचान गरी आवश्यक रातो र सेतो कार्ड उपलब्ध गराउने, डाक्टरमार्फत स्वास्थ्य परीक्षण गर्ने र गाउँपालिकासम्म आउनुपर्ने झन्झट कम गर्ने व्यवस्था गरिएको जनाइएको छ।

गाउँपालिकाका विद्यालयहरूलाई आवश्यकताअनुसार ल्यापटप र प्रिन्टर समेत हस्तान्तरण गरिएको छ। त्यस्तै, कृषक तथा स्थानीय बासिन्दालाई सामूहिक हाते ट्याक्टर, तरकारी तथा विभिन्न बिउबिजन पनि वितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो।

गाउँपालिकाकी उपाध्यक्ष बनस्थम थिङले न्यायिक समितिसम्बन्धी गतिविधिहरू पनि वडामै सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार यसले महिलाहरूलाई न्यायिक सेवा, साक्षरता, र लैङ्गिक हिंसा सम्बन्धी विषयमा जानकारी लिन सहज हुनेछ।
त्यसैगरी, युवालाई लघु उद्यम विकासका मोडल, वैदेशिक रोजगारीसम्बन्धी परामर्श, बेरोजगार सूचीकरण फाराम भर्ने व्यवस्था तथा मनोपरामर्शका फाराम वितरण गरिएको थियो। कार्यक्रममा विदेश जान चाहनेहरूलाई आवश्यक परामर्श पनि प्रदान गरिएको जनाइएको छ।

आजको कार्यक्रममा गाउँपालिकाका कृषि, पशु स्वास्थ्य, शिक्षा लगायत शाखाका प्रमुखहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्केले जानकारी दिनुभयो।
त्यस्तै, वडा नम्बर १ देखि ४ सम्मका जेष्ठ नागरिकलाई पोषणयुक्त खाना पनि वितरण गरिएको थियो। स्थानीय आवश्यकता र मौसमअनुसार सेवा विस्तार गर्दै जाने गाउँपालिकाले जनाएको छ।








