मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले दुर्गम बस्तीका नागरिकलाई सहज रूपमा सेवा पुर्याउने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालनमा ल्याएको छ। नेपालकै गरिब गाउँपालिकामध्ये एक मानिने राक्सिराङ्ग आफ्नै वडाबाट सबै सेवा सुविधा उपलब्ध गराउने लक्ष्यसहित आज वडा नम्बर १ बाट कार्यक्रम सुरु गरेको हो।
यस अभियानको एउटा मार्मिक झलक आज ११८ वर्षीया ज्येष्ठ नागरिक श्रीमती सेतीमाया पाख्रिनको घरमा देखियो। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लसहितको टोली उनको घरमै पुगेर स्वास्थ्य परीक्षण र भेटघाट गर्दा सेतीमायाको अनुहारमा देखिएको मुस्कानले कार्यक्रमको सार्थकता झल्काएको देखिन्थ्यो।
राक्सिराङ्गमै जन्मिएकी सेतीमायाको नागरिकता अनुसार उनको जन्म सन् १९६४ मा उल्लेख गरिएको छ, उमेरका हिसाबले उनी अहिले११८ वर्ष पुगेकी छन्। जीवनका अनेक उतारचढाव पार गर्दै उनी आज पनि गाउँमै साधारण जीवन बिताइरहेकी छन्।
उनको जीवन कथा झनै रोचक छ। चन्द्रबहादुर वाइबाले ११५ वर्षको उमेरमा सेतीमायासँग दोस्रो विवाह गरेका थिए। पहिलो श्रीमती बितिसकेपछि र सेतीमायालाई छोराहरूबाट उचित हेरचाह नपाएको अवस्थामा उनले सेतीमायालाई घरमा ल्याएर जीवनसाथी बनाएका थिए। “यो निर्णयप्रति म सधैं खुसी छु,” चन्द्रबहादुरले मुस्कुराउँदै भने। उनी आफै सेतीमाया भन्दा ३० वर्ष कान्छा छन्।

अहिले भने समय फेरिएको छ। उनीहरू दुवैको हेरचाह चन्द्रबहादुरको छोराले हेरिरहेका छन्। गाउँपालिकाको टोली घरमै पुगेर सेवा दिएपछि वाइबा दम्पति अझै उत्साहित देखिए।
अध्यक्ष मल्लका अनुसार घुम्ती शिविरको मुख्य उद्देश्य नै यस्तै असहज अवस्थामा रहेका नागरिकसम्म सेवा पुर्याउनु हो। “अब सेवा लिन गाउँपालिकासम्म धाउनुपर्ने अवस्था हटाउँदैछौं, सेवा नै जनताको घरदैलोमा ल्याएका छौं,” उहाँले बताउनुभयो।
गाउँपालिकाले सञ्चालन गरेको यो अभियानले केवल सेवा प्रवाह मात्र होइन, यस्ता जीवन कथाहरूलाई पनि उजागर गरिरहेको बताउनुहुन्छ ।








