आगामी जुन-जुलाईमा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने फिफा विश्वकप २०२६ खेल्ने सबै ४८ टोलीको टुंगो लागेको छ ।
यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो र फरक ढाँचामा आयोजना हुँदैछ। पहिलोपटक ४८ टोलीहरू सहभागी हुन लागेका हुन् ।छनोट यात्रा सेप्टेम्बर २०२३ बाट सुरु भएको थियो र करिब डेढ वर्षसम्म चलेको थियो। विश्वका ६ वटा फुटबल महासंघबाट टोलीहरू छनोट भए। अन्तिम चरणमा अन्तरमहादेशीय प्लेअफबाट डीआर कंगो र ईराकले विश्वकपमा स्थान बनाएका हुन्।
युरोपबाट भने ठूलो उलटफेर देखियो, जहाँ चार पटकको च्याम्पियन इटली छनोट हुन् असफल रहँदा बोस्निया-हर्जगोभिना, स्वीडेन,टर्की र चेक रिपब्लिक छनोट भएका छन्|
प्रतियोगिता
यसपटकको फिफा विश्वकप तीन देश- अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुनेछ।
प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म, कुल ३९ दिन चल्नेछ, जुन अहिलेसम्मकै सबैभन्दा लामो विश्वकप हुनेछ।
यसपटक १२ समूह बनाइएको छ र प्रत्येक समूहमा ४ टोली रहनेछन्। प्रत्येक समूहबाट शीर्ष २ टोली सिधै राउन्ड अफ ३२ चरणमा अघि बढ्नेछन् ।
साथै तेस्रो हुने उत्कृष्ट ८ टोली पनि नकआउट चरणमा पुग्नेछन् । यसरी कुल ३२ टोली नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्नेछन्।
त्यसपछि अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेलिनेछ।








