हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेमा मुसा भगाउनका लागि बालिएको आगो अनियन्त्रित हुँदा ठूलो क्षति भएको छ। आगलागीका कारण स्थानीय सानुकाजी स्याङबोको काठ र जस्ताले बनेको गोठ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चैत १९ गते बिहीबार साँझ करिब १९:१५ बजे भएको आगलागीमा एक गाईको बाछी जलेर घाइते भएको छ भने १० वटा बाख्रा मरेका छन्। घटनाबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षक गौरीशंकर साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो करिब १९:४० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मुसा भगाउन बालिएको आगो अनियन्त्रित भई फैलिँदा आगलागी भएको हो। घटनास्थल प्रहरी चौकी रातोमाटेबाट करिब ४ किलोमिटर पूर्वमा पर्छ।








