मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी हेटौँडा आएको करिब छ महिना पुगेको छ। विभिन्न सार्वजनिक कार्यक्रममा उनले सुरुदेखि नै हेटौँडाका सामान्य सुधारका काममा आफू सक्रिय रहेको बताएका छन्। तर स्थानीयले भने उनले उल्लेख गरेका कतिपय समस्या अझै समाधान नभएको गुनासो गरेका छन्।
स्थानीयका अनुसार शहरका केही सार्वजनिक स्थलहरू, विशेषगरी बुद्धचोक आसपास, अझै सूमो आतंक अझैं व्यवस्थित हुन सकेका छैनन्। त्यहाँ पैदल यात्रुलाई सहज आवतजावत गर्न कठिनाइ हुने गरेको छ। त्यस्तै, ट्राफिक व्यवस्थापन, अव्यवस्थित पार्किङ तथा साना दुर्घटनाहरू मिलापत्रमै टुंगिने प्रवृत्ति पनि यथावत् रहेको बताइन्छ।
लागूऔषध नियन्त्रणतर्फ पनि चुनौती कायम छ। केही दिनअघि प्रमुख जिल्ला अधिकारी अधिकारीले गाउँपालिका स्तरमा पुगेर कडाइका साथ जनप्रतिनिधि कर्मचारीहरूलाई समेत कारबाही गर्ने चेतावनी दिएका थिए। यसअघि पनि स्थानीय तहका जनप्रतिनिधिहरूले गाँजा तथा अफिम खेती नियन्त्रणमा कडा निर्देशन दिएका भए पनि व्यवहारमा पूर्ण नियन्त्रण हुन सकेको छैन।
यसैबीच, नयाँ सरकार गठनपछि उच्चस्तरीय अनुगमन बढ्ने सम्भावनालाई ध्यानमा राख्दै हेटौँडा सिमेन्ट उद्योग लिमिटेड परिसरमा सरसफाइ तथा झाडी फडानी अभियान सुरु गरिएको छ। आज प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकाय, सरकारी कार्यालय तथा स्थानीयको सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
त्यस्तै, २५ मिटर सडक अतिक्रमण हटाउने विषय पनि चुनौतीपूर्ण बन्दै गएको छ। सहज रूपमा कार्यान्वयन हुने अपेक्षा गरिएको उक्त अभियान व्यवहारमा जटिल बन्दै गएको सरोकारवालाहरू बताउँछन्। जसले गर्दा अहिले हेटौडा बजार कुरूप देखिएको स्थानीय बताउँछन्।
भर्खर सकिएको खेलकुद तथा कृषि पर्यटन मेलामा पनि झमेला रहेको र अन्तिम चरणमा स्थगित गर्नुपर्ने अवस्था नै रहेको र यसमा प्रशासन मौन रहेको पनि स्थानीयले गुनासो गरेका थिए।








