३० चैत, काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिलाई लिएर बेलैमा सच्चिन सुझाव दिएकी छन् । सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणबारे भइरहेको आलोचनाविरुद्ध गृहमन्त्री गुरुङले ‘तिमी जन्मदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ भनेर सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिएका थिए ।
त्यही अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता बमले सामाजिक सञ्जालबाटै प्रश्न उठाएकी छन् ।
‘माननीय गृहमन्त्रीज्यु, फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो । आर्थिक हैसियतका हिसाबले कसैले बाँचीरहेको जीवन नै गलत हो भन्न मिल्दैन,’ उनले लेखेकी छन् ।
उनले आज नेपालका २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन् रहेको उल्लेख गर्दै भनेकी छन्, ‘तपाईंको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ । गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ ।’
जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन राज्यका स्रोतको सीमितताका कारण सम्भव नभएको उनले बताएकी छन् । ‘न तपाईँहरूसँग यसको यथार्थपरक योजना नै छ,’ उनले लेखेकी छन् ।
‘जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो,’ अभियन्ता बमले भनिन्, ‘आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो, भन्न तपाईंलाई कति बेर लाग्ला र ?’
आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेलाई ‘गलत’को संज्ञा दिनु गृहमन्त्री गुरुङको पदीय मर्यादाविपरीत रहेको उनको टिप्पणी छ । ‘बेलैमा सचिनुस्’, अभियन्ता बमले सुझाव दिएकी छन् ।-अनलाई खबर







