अस्पतालहरूमा पनि साताको दुई दिन बिदा हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गरी शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय सरकारी अस्पतालहरूमा पनि लागू हुने जानकारी दिएको हो।
सोही अनुसार अब सरकारी अस्पतालहरुमा शनिबार र आइतबार बिदा हुने भएको छ। बिदाका दिन अस्पतालमा बहिरंग (ओपिडी) सेवा बन्द हुन्छ। आकस्मिक तथा अत्यावश्यक सेवाहरू २४ घण्टा सञ्चालनमा रहने मन्त्रालयले जनाएको छ।
‘ नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको छ,’ मन्त्रालयले विज्ञप्तीमार्फत भनेको छ।
उक्त निर्णयका कारण स्वास्थ्य सेवामा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै अस्पतालहरूले सेवा निरन्तर सञ्चालन गर्ने गरी तयारी गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ।
बिदाका दिनमा बिरामीले कुनै समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले नजिकका उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न समेत मन्त्रालयले अनुरोध गरेको छ।
यसैगरी, सर्वसाधारणलाई उपलब्ध सेवासम्बन्धी जानकारी अस्पतालका वेबसाइट तथा सूचना प्रणालीमार्फत उपलब्ध गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले अस्पताल सुधार कार्यविधि, २०८२ को पूर्ण कार्यान्वयन गर्दै आगामी दिनमा संगठन तथा व्यवस्थापन सम्पन्न भएपछि स्वास्थ्य सेवालाई थप सुदृढ र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेको छ।








