हेटौँडा, वैशाख ४ गते । प्रहरीले बागमती प्रदेशमा मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने १७ सय भन्दा बढी सवारी चालकलाई कारबाही गरिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले कार्यालय मातहतका काठमाडौँ उपत्यका बाहेकका १० जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ को गत चैत मसान्तसम्ममा मादक प्रदार्थ सेवन र लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने एक हजार ७४० जना सवारी चालकलाई कारबाही गरेको जानकारी दिईएको छ ।
मादक प्रदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाई हिड्ने बढ्दो प्रवृत्तिका कारण आकस्मिक र गम्भीर दुर्घटना हुने गरेको पाइएपछि कार्यालय मातहतका जिल्लाहरुमा यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यसम्म पु¥याउन लापसे र मापेस जाँचलाई तिव्रता दिइएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रहरी उपरीक्षक मोहनबहादुर खाँणले सवारी दुर्घटना न्यूनीकरण गर्न लापसे र मापेस जाँचलाई प्राथमिकता राखेर काम गर्दै आएको जानकारी दिएका हुन् ।
चाल आवको नौ महिनाको अवधिमा मादक प्रदार्थ सेवन जाँच एक हजार ५४३ जना चालकले मापसे गरी सवारी साधन चलाएको पाइएको उहाँले बताउनुभयो । मादक प्रदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई कारबाही गरी आठ लाख १६ हजार पाँच सय रुपियाँ जरिवाना गरिएको छ ।यस्तै लापसे एक हजार ३१२ जना सवारी चालकलाई जाँच गर्दा १९७ जना सवारी चालकले लापसे गरी सवारी साधन चलाएको पाइएपछि कसुर दर्ता गरी कारबाहीका लागि प्रहरीले प्रक्रिया अगाडि बढाएको हो ।
लापसे जाँच गर्न प्रहरी प्रधान कार्यालय, जनस्वास्थ्य कार्यालय र स्थानीय तहबाट एक हजार ७४३ किट प्राप्त भएकोमा ४५१ थान किट मौज्दात रहेको प्रहरीको भनाई छ ।
प्रहरी उपरीक्षक खाँणले लागू पदार्थ सेवन गरी सार्वजनिक यातायात चलाउने चालकको सङ्ख्या बढ्दै गएकोले लापसे जाँचलाई तिव्रता दिई नियन्त्रणका लागि विशेष अभियानका रुपमा नियमित जाँच एवं सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।







