नेपाली कांग्रेस संसदीय दल विधान सांसदहरूको छलफलबाट पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाएसँगै संसदीय दल नेता चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ।
सहमहामन्त्रीसमेत रहेका निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार संसदीय दल नेता चयन गर्न निर्वाचन कार्यतालिकाअनुसार बिहीबारदेखि प्रक्रिया अघि बढेको हो।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसले ३८ सिट जितेको थियो।
संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदार छन्।
पार्टीले सांसदहरूसँग यस विषयमा छलफल गर्न महामन्त्री प्रदीप पौडेल लगायतलाई जिम्मेवारी दिएको छ।
सकेसम्म सहमतिमा संसदीय दल नेता चयन गर्न सकिन्छ कि भनेर पार्टी पदाधिकारीहरूले पहल गरिराखेको एक सांसदले जानकारी दिए।
‘दल नेताको आकांक्षी धेरै भए पनि मुख्य गरी ३ जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ, पार्टीले सहमतिका लागि प्रयास गर्दैछ, सहमति नभए निर्वाचन कार्यतालिकाअनुसार भोलि अपराह्न मतदान हुनेछ,’ ती सांसदले भने।
शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको मनोनयन हुनेछ। आज मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको छ।
कांग्रेसभित्र प्रत्यक्षतर्फबाट आएकालाई संसदीय दल नेता बनाउन पनि कतिपय सांसदहरूले माग गरेका छन्। केसी र आङ्देम्बे समानुपातिकतर्फबाट प्रतिनिधि सभा सांसद भएका हुन्।
विशेष महाधिवेशनले पार्टी रूपान्तरण र पुस्तान्तरणको सन्देश दिएकोले युवा सांसदहरूलाई अगाडि सार्नुपर्ने मत पनि छ।
त्यसअनुसार योगेश गौचन थकाली, निश्कल राई, बासना थापा लगायतलाई पनि संसदीय दल नेता आकांक्षीका रूपमा हेरिएको ती सांसदले बताए। तर वरिष्ठ नेताहरूलाई संसदीय दल नेता बनाएर युवा सांसदलाई प्रमुख सचेतक र सचेतक बनाउने गरी पनि छलफल भइरहेको छ।
‘संसदीय दल नेताका आकांक्षीहरूसँग भोलि उम्मेदवारी दर्ताअघिसम्म पनि छलफल भइरहन्छ,’ ती सांसदले भने, ‘सहमति भएन भने प्रतिस्पर्धाबाट दल नेता चयन गरिन्छ। २०६४ सालपछिका चुनावमा प्रतिस्पर्धाबाटै दल नेता चयन गर्दै आएको अभ्यास पनि पार्टीभित्र छ।’







