मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले करिब २० लाख रुपैयाँ व्यक्तिगत लगानी गरी सडक ढलान गराएका छन्। मनहरी गाउँपालिका–२ अन्तर्गत कर्मचोकदेखि वडा कार्यालयसम्म पुग्ने करिब २०० मिटर लम्बाइ र ६ मिटर चौडाइको सडक ढलान कार्य सम्पन्न गरी बिहीबार उद्घाटन गरिएको हो। 
उक्त सडकको उद्घाटन स्थानीय ज्येष्ठ नागरिक कुलबहादुर स्याङ्तानले रिबन काटेर गरेका थिए। जेनजी आन्दोलनपछि गाउँपालिकामा भएको भौतिक क्षति र बजेट कटौतीका कारण विकास आयोजना प्रभावित बनेपछि स्थानीयको आवश्यकता सम्बोधन गर्न व्यक्तिगत लगानीमा सडक निर्माण गरिएको अध्यक्ष कालाखेतीले बताए।
उनका अनुसार धुलो र प्रदूषणका कारण स्थानीयवासीले सास्ती खेप्दै आएका थिए। गाउँपालिकाबाट प्रस्तावित योजना कटौती गर्नुपर्ने अवस्था आएपछि तत्काल सडक ढलान आवश्यक ठानी आफ्नै लगानीमा काम अघि बढाइएको उनले स्पष्ट पारे। अध्यक्ष कालाखेतीले आफू जनप्रतिनिधि बनेदेखि सरकारी सवारी सुविधा नलिएको र तलबभत्ता समेत जनताकै सेवामा खर्च गर्दै आएको बताएका छन्।
मनहरी–२ का वडाध्यक्ष राजकुमार पाख्रिनले अध्यक्ष कालाखेतीको पहलप्रति आभार व्यक्त गर्दै सडक स्तरीकरण र राष्ट्रिय राजमार्गसम्म पहुँच विस्तारका लागि पुल निर्माणलगायतका योजनामा थप पहल गर्न आग्रह गरेका छन्।
यसअघि पनि अध्यक्ष कालाखेतीले आफ्नै तलबभत्ताबाट मनहरी–५ मा एक विपन्न परिवारका लागि घर निर्माण गरिसकेका छन् भने मनहरी–६ मा अर्को घर निर्माण भइरहेको छ। साथै विपन्न बालबालिकाका लागि छात्रवृत्ति र पोसाकमा समेत उनले सहयोग गर्दै आएका छन्।
सडक उद्घाटन कार्यक्रममा वडा नम्बर २ का स्थानीयवासी, समाजसेवी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।







