मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा सामुदायिक विद्यालयका शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि विषयगत कार्यशाला आयोजना गरिएको छ।
गाउँपालिकाभित्रका ३२ वटा विद्यालयका ३१० जना शिक्षक सहभागी हुने गरी शुक्रबारदेखि दुई दिने कार्यशाला गरिएको हो। 
शिक्षकको समग्र विकास र शिक्षण क्षमतामा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाको सहयोग तथा युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। कार्यशाला मनहरीका ७ वटा विद्यालयमा विषयअनुसार छुट्टाछुट्टै रूपमा सञ्चालन भइरहेको छ।
बालजीवन ज्योति माध्यमिक विद्यालयमा सामाजिक तथा स्वास्थ्य, महेन्द्रज्योति माध्यमिक विद्यालयमा गणित, पशुपतिनाथ माध्यमिक विद्यालयमा विज्ञान, नवज्योति प्राथमिक विद्यालयमा बालविकास तथा शिक्षा, महेन्द्रकिरण माध्यमिक विद्यालयमा अंग्रेजी, राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा नेपाली तथा राष्ट्रिय माध्यमिक विद्यालयमा बालविकास र शिक्षा विषयका शिक्षकका लागि कार्यक्रम आयोजना गरिएको स्रोत शिक्षक विदुर थापाले जानकारी दिए।
कार्यक्रममा सहभागी शिक्षकहरूबीच विषयवस्तु, शैक्षिक सामग्री, शिक्षण विधि, आन्तरिक तथा बाह्य मूल्यांकन तथा सिकाइ चौतारीबारे छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको छ। प्रशिक्षक तथा सहजकर्ताहरू भने गाउँपालिका बाहिरबाट ल्याइएको जनाइएको छ। 
नयाँ शैक्षिक सत्र सुरु हुन लागेका बेला आयोजना गरिएको यस कार्यशालाले शिक्षकहरूलाई नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको युवा तथा खेलकुद शाखा प्रमुख प्रदीप पराजुलीले बताए। उनका अनुसार कार्यशालाले कार्ययोजना निर्माण, कार्यतालिका व्यवस्थापन र शैक्षिक सामग्री विकासमा पनि सहयोग पुर्याउनेछ।
कार्यक्रममा सहभागी शिक्षकहरूले यस्ता कार्यशाला तथा पुनर्ताजगी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन्। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पठनपाठन सुरु गर्ने तयारी गरिरहेकाले सोही सन्दर्भमा कार्यशाला आयोजना गरिएको हो।







