चैनपुर जेसीज मनहरीले नयाँ वर्ष २०८३ सालको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमसँगै भित्तेपात्रो विमोचन गरेको छ। शनिबार बिहान आयोजित एक कार्यक्रममा जेसीजले प्रकाशन गरेको भित्तेपात्रो औपचारिक रूपमा विमोचन गरिएको हो।
कार्यक्रम संयोजक हरिप्रसाद अधिकारीको संयोजकत्व तथा जेसीजका अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष मगरले मनहरी गाउँपालिकामा युवा तथा खेलकुद क्षेत्रको विकासमा जेसीजले खेलेको भूमिकाको प्रशंसा गरिन्। उनले स्थानीय तह र जेसीजबीच सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक सहयोगका लागि गाउँपालिका सधैं तयार रहेको बताइन्। साथै, नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनले सम्पूर्ण पालिकाबासीको सुख, शान्ति र समृद्धिको कामना गरिन्।
मगरले युवाहरूलाई जेसीजमा आबद्ध हुन आह्वान गर्दै पछिल्लो समय युवामा बढ्दो लागूऔषध दुव्र्यसनप्रति चिन्ता व्यक्त गरिन्। यस समस्याको समाधानका लागि जेसीजले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रममा मनहरी गाउँपालिका वडा नं. ४ का अध्यक्ष प्रकाश थापा, चैनपुर जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, अध्यक्ष सल्लाहकार विदुरविक्रम थापा, कार्यकारिणी उपाध्यक्ष राजु सुवेदीलगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै सामाजिक तथा आवश्यकतामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
त्यसैगरी, कार्यक्रममा जेसीजका निवर्तमान अध्यक्ष श्रीकृष्ण ढकालसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।







