मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ मा सामुदायिक विद्यालय सुधारका लागि एउटा प्रेरणादायी र उदाहरणीय अभियान सुरु भएको छ, जसको केन्द्रमा शिक्षक स्वयं रहेका छन्।
वडा भित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाले अब आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउने सामूहिक प्रतिबद्धता जनाएका छन्। “म बनाउँछु मेरो विद्यालय” भन्ने नारासहित अघि बढाइएको यस अभियानले स्थानीय शिक्षामा सकारात्मक परिवर्तनको संकेत दिएको छ।
वडा अध्यक्ष दिपेश दाहालको अध्यक्षतामा सम्पन्न बैठकमा वडा भित्र रहेका सातवटै सामुदायिक विद्यालयका शिक्षकहरूले लिखित रूपमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रतिबद्धता जनाउनेमा शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर कार्की, सरस्वती आधारभूत विद्यालयका चतुर्भुज पौडेल, अमरसिंह आधारभूत विद्यालयका राजु संजेल, आधारभूत विद्यालयका प्रल्हाद घिमिरे, ज्योति आधारभूत विद्यालयकी करुणा विष्ट, मञ्जुश्री आधारभूत विद्यालयका कृष्णप्रसाद आचार्य तथा उज्वल आधारभूत विद्यालयका इन्द्रबहादुर बस्नेत रहेका छन्।
बैठक केवल प्रतिबद्धतामा सीमित रहेन। सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, दीर्घकालीन शैक्षिक रणनीति र विद्यालयको समग्र स्तर उकास्ने उपायहरूबारे समेत गहन छलफल गरिएको थियो।
वडा अध्यक्ष दाहालले सामुदायिक विद्यालय सुधारप्रति स्थानीय सरकार दृढ रहेको बताउँदै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षक, अभिभावक र सरकारबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।
बैठकमा वडा सचिव फणिन्द्र बीसी, वडा सदस्यहरू सुकराम थिङ, अर्जुनबहादुर रुम्बा, नन्दकुमारी विक, चन्द्रकुमारी हुमागाईं, शिक्षा समिति सदस्यहरू बलराम फुयाँल, तेलीमाया घलान, कमलप्रसाद संजेल तथा विद्यालय व्यवस्थापन समिति पदाधिकारी र शिक्षक प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
गत वर्षको एसईई परीक्षामा जिल्ला प्रथम हुन सफल शारदा माध्यमिक विद्यालयको उपलब्धिलाई आधार मानेर वडा नम्बर ५ का अन्य विद्यालयलाई पनि उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
यो अभियानले सामुदायिक विद्यालयप्रति विश्वास पुनःस्थापित गर्ने र गुणस्तरीय शिक्षातर्फ ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।







