साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको हो ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ को बराबरी खेलेर समग्रमा ६–५ को जित निकाल्दै पेरिस सेन्ट-जर्मेनले उपाधि रक्षा गर्ने यात्रालाई निरन्तरता दिएको छ ।
म्युनिखको एलियान्ज एरिनामा भएको खेलमा पेरिस सेन्ट-जर्मेनका लागि उस्मान डेम्बेलेले तेस्रो मिनेटमै गोल गरेका थिए । भिचा भरात्स्खेलियाको उत्कृष्ट दौड र पासमा डेम्बेलेले शक्तिशाली प्रहार गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
घरेलु टोली बायर्न त्यसपछि खेलमा फर्किन लगातार प्रयासरत रह्यो । ह्यारी केनलाई पेरिसको रक्षापंक्तिले धेरैजसो समय नियन्त्रणमा राख्यो । पहिलो हाफमा बायर्नले पेनाल्टीको माग गरे पनि रेफ्रीले अस्वीकार गरेका थिए । दोस्रो हाफमा पनि पेरिस सेन्ट-जर्मेनले केही राम्रो अवसर सिर्जना गरेको थियो । डिजायर डुए नजिक पुगे पनि बायर्नका गोलरक्षक मानुएल नोयरले उत्कृष्ट बचाउ गरे ।
खेलको इन्जुरी समयमा ह्यारी केनले अल्फोन्सो डेभिसको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए । तर त्यो गोल बायर्नलाई फाइनल पुग्न पर्याप्त भएन । यससँगै पेरिस सेन्ट-जर्मेनले अब उपाधिका लागि आर्सनलसँग खेल्नेछ । फाइनल खेल मे ३० मा बुडापेस्टमा हुनेछ ।







