६२औँ विद्यार्थी एकता दिवसको अवसरमा अखिल (क्रान्तिकारी) मकवानपुरले हेटौँडा–५ स्थित “हाम्रो घर” संस्थामा आश्रित बालबालिकालाई स्टेशनरी सामग्री, खेलकुद सामग्री, पोसाक तथा आर्थिक सहयोग गरेको छ ।
अखिल (क्रान्तिकारी)ले करिब १५ हजार रुपैयाँ बराबरका कपी, कलम लगायत स्टेशनरी सामग्री हस्तान्तरण गर्नुका साथै ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । विद्यार्थीहरूको अध्ययनलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बताइएको छ ।
२०६५ सालमा स्थापना भएको “हाम्रो घर” संस्थाले आश्रयविहीन बालबालिकाको संरक्षण, अध्ययनका साथै विभिन्न सीप सिकाइ समुदायमा पुनःस्थापना गर्ने कार्य गर्दै आएको छ । हाल संस्थामा १०० भन्दा बढी बालबालिका आश्रित रहेका छन् ।
हस्तान्तरण कार्यक्रममा नेकपा बागमती प्रदेश सचिवालय सदस्य बिबेक राइ, नेकपा हेटौँडा उपमहानगर वडा नं. ७ अध्यक्ष बासु कटुवाल, हाम्रो घर संस्था अध्यक्ष इन्दिरा न्यौपाने डल्लाकोटी, वाइसीएल हेटौँडा–५ अध्यक्ष हरि ढकाल, मकवानपुर जिल्ला फुटबल रेफ्री केदार दुलाल लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला सचिव छोईसाङ लामा, सहसचिव सुजन सिलवाल लगायत संगठनका नेता तथा कार्यकर्ताहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो







