हेटौँडा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले जिल्लाका अधिकांश पालिकामा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार हेटौँडामा बसेको जिल्ला कमिटी बैठकले जेठको दोस्रो साताभित्र ९ वटा पालिकामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकअनुसार थाहा नगरपालिकामा जेठ ९ गते अधिवेशन हुनेछ । उक्त अधिवेशनका लागि राजकुमार कार्की र रमेश थापालाई जिम्मेवारी दिइएको छ ।
जेठ १० गते हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा अधिवेशन आयोजना गरिनेछ । यसका लागि विष्णु दाहाल, टाकाराज थापा, किशोर अर्याल र ईश्वर दाहाललाई खटाइएको छ ।
त्यसैगरी, इन्द्रसरोवर गाउँपालिकाको अधिवेशन जेठ १३ गते तय गरिएको छ । यहाँ पनि राजकुमार कार्की र रमेश थापाले जिम्मेवारी सम्हाल्नेछन् ।
मकवानपुरगढी गाउँपालिकामा जेठ १५ गते अधिवेशन हुने भएको छ । अधिवेशन व्यवस्थापनका लागि विष्णु दाहाल र टाकाराज थापालाई जिम्मेवारी दिइएको छ ।
जेठ १६ गते बागमती, बकैया र राक्सिराङ गाउँपालिकामा एकैदिन अधिवेशन गर्ने तयारी गरिएको छ । यी पालिकाका लागि सुनिता राई, विवेक कट्टेल, अस्मिता न्यौपाने, विवेक सुवेदी र सन्तोष बर्तौलालाई जिम्मेवारी तोकिएको छ ।
कार्यवाहक सभापति तथा मकवानपुर–१ का सांसद प्रकाश गौतमको अध्यक्षतामा बसेको बैठकले जिल्ला अधिवेशनअघि सबै पालिकाको अधिवेशन सक्ने निर्णय गरेको जनाएको छ । जिल्लाका १० पालिकामध्ये भीमफेदी गाउँपालिकामा भने अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ ।







