नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार हेटौँडामा सम्पन्न सङ्घको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशनले इटेनीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ठाकुर भट्टराई, उपाध्यक्षमा दीपेन्द्र बर्तौला, सचिवमा विष्णुहरि पण्डित, सहसचिवमा उत्तम खड्का तथा कोषाध्यक्षमा रामजी कोइराला निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा रामेश्वर श्रेष्ठ, अभिषेक बर्तौला, राजु बिडारी र मनोजकुमार शाह चयन हुँदा किशोर शर्मा कँडेल पदेन सदस्य रहनुभएको छ।
यसैबीच, सङ्घले मकवानपुरका पत्रकार प्रताप विष्ट र राममणि दाहाललाई सम्मान गरेको छ। जिल्लाको आर्थिक तथा सामाजिक विकासमा पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्याएको भन्दै दाहाललाई ‘राजन थापा स्मृति पत्रकारिता पुरस्कार’ र विष्टलाई ‘बलराम दास स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो।


नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जनही ११ हजार १११ रुपैयाँ राशिसहित पुरस्कार प्रदान गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रधानले पेट्रोलियम पदार्थको कारोबार अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले पेट्रोल पम्प २४सै घण्टा सञ्चालन हुनुपर्ने र त्यसअनुसार निगमका डिपोहरू पनि नियमित रूपमा सञ्चालन हुनुपर्ने बताउनुभयो।
नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख अशोक शाहले चुनौतीपूर्ण परिस्थितिका बीच पनि निगमले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन सुनिश्चित गरेको उल्लेख गर्दै बिक्रेताहरूलाई निजी सवारीसाधनमार्फत ढुवानी गर्न अनुमति रहेको जानकारी दिनुभयो।
त्यसैगरी, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले हाल पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको बताउँदै लगानी र जोखिमको आधारमा व्यवसायीले उचित मुनाफा पाउनुपर्ने धारणा राख्नुभयो।
चितवन पेट्रोलियम डिलर्स एसोसिएसनकी अध्यक्ष शर्मिला सेढाईले सूचना प्राप्त गर्नु सबैको अधिकार भएको उल्लेख गर्दै नेपाल आयल निगमलाई पारदर्शिता कायम राख्न र सूचना प्रवाहमा खुलापन अपनाउन आग्रह गर्नुभयो।
सङ्घका अध्यक्ष उत्सव इटेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाट, नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठ, पूर्वअध्यक्ष सिद्धिलाल श्रेष्ठ, सल्लाहकार ढुण्डीराज उप्रेती, बागमती पेट्रोलियम विक्रेता सङ्घका अध्यक्ष अच्युत खड्का तथा रौतहट पेट्रोलियम विक्रेता सङ्घका अध्यक्ष महेश दासलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।









