“समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित विश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा सञ्चालित सप्ताहव्यापी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

समापन समारोहमा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन तथा सामुदायिक विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो भने विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनका चुनौती सामना गर्न सरकार, स्थानीय तह, समुदाय र नागरिकबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
पूर्व मुख्यमन्त्री पौडेलले हेटौंडामा टोल विकास संस्थामार्फत समुदायमा आधारित विकास र वातावरण संरक्षण अभियानको सुरुवात भएको स्मरण गर्दै वातावरणीय सचेतना अभिवृद्धिमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। वन तथा वातावरण मन्त्री केसीले प्राकृतिक स्रोत संरक्षण, प्लास्टिकजन्य प्रदूषण नियन्त्रण तथा हरियाली प्रवर्द्धन सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा अध्यक्ष अधिकारीले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वृक्षारोपण, प्लास्टिक न्यूनीकरण अभियान, फोहोर खोज चुनौती, विद्यालयस्तरीय प्रतियोगिता, वातावरणीय संवाद, सचेतनामूलक र्याली तथा सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो।
वातावरण सम्मान–२०८३ प्रदान
त्यस्तै,समारोहमा वातावरण संरक्षण तथा सामुदायिक विकासमा योगदान पुर्याएका विभिन्न व्यक्ति तथा संस्थाहरूलाई ‘वातावरण सम्मान–२०८३’ प्रदान गरिएको थियो।
यस वर्ष वरिष्ठ पत्रकार तथा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट लाई खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा पुर्याउनुभएको योगदानको कदरस्वरूप सम्मान गरिएको छ।

त्यसैगरी सिद्धिलाल श्रेष्ठ लाई हेटौंडा–११ स्थित बुद्ध पार्क निर्माण तथा संरक्षणमा योगदान पुर्याएबापत सम्मान गरिएको छ। विद्यालयतर्फ भुटनदेवी माध्यमिक विद्यालय, मन्दिरतर्फ पशुपति मन्दिर, धार्मिक स्थलतर्फ कुशमान्ड सरोवर त्रिवेणीधाम, स्मारकतर्फ शहीद स्मारक विकास समिति तथा सामुदायिक वनतर्फ रानी सामुदायिक वन सम्मानित भएका छन्।
वडा कार्यालयहरूमध्ये वातावरणीय व्यवस्थापन तथा हरियाली प्रवर्द्धनमा उत्कृष्ट कार्य गरेबापत हेटौंडा उपमहानगरपालिका वडा नं. १० सम्मानित भएको छ। उत्कृष्ट टोल विकास संस्था वडा समन्वय समितिका रूपमा हेटौंडा–११ वडा समन्वय समिति सम्मानित भएको छ भने वातावरणीय कार्यक्रम सञ्चालनमा योगदान पुर्याएबापत हेटौंडा–११ वडा कार्यालयलाई विशेष सम्मान प्रदान गरिएको थियो।
सर्प उद्धार तथा व्यवस्थापनमा योगदान पुर्याएबापत राजेश थापा र विश्वास कोइराला सम्मानित भएका थिए। साथै डिभिजन वन कार्यालय मकवानपुर, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११, ज्ञानदीप टोल विकास संस्था, शान्तिचोक टोल विकास संस्था, सामुदायिक विकास तथा सचेतना नेपाल र पशुपति हेल्थ क्लब लगायत विभिन्न संघसंस्थालाई पनि सम्मान प्रदान गरिएको थियो।
यसै अवसरमा हेटौंडा–११ का पूर्व वडा अध्यक्ष गोकर्ण पराजुली लाई वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा टोल विकास संस्थाको प्रभावकारी परिचालनमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो।
प्रतियोगिताका विजेता सम्मानित
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित सचेतनामूलक र्याली प्रतियोगितामा विकास टोल विकास संस्था, हेटौंडा–८ प्रथम, कालिकामाई टोल विकास संस्था द्वितीय तथा फारलाइन टोल विकास संस्था तृतीय भएका थिए। मनकामना ‘ख’, मनकामना ‘क’, तपोवन, सिमलटार तथा पिप्लेचोक टोल विकास संस्थाले सान्त्वना स्थान प्राप्त गरेका थिए।
त्यस्तै, खेर गएका वस्तुबाट उपयोगी सामग्री निर्माण प्रतियोगितामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय प्रथम, नवोदय शिशु सदन द्वितीय तथा सिद्धार्थ माध्यमिक विद्यालय तृतीय भएका थिए। ब्रह्मदिक एकेडेमी, ज्ञानदीप शिक्षा निकेतन, रसेल एकेडेमी तथा भुटनदेवी माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, वन तथा वातावरण मन्त्री भरतकुमार केसी, प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललित कुमार घलान तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ लगायतको उपस्थिति रहेको थियो।







