सिराहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार महतसहित तत्कालीन इन्जिनियर तथा योजना शाखा प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश गदाल, साना किसान कृषि सहकारी संस्था लिमिटेड विष्णुपुर, सिराहा तथा सोका तत्कालीन अध्यक्ष सरोजकुमार यादवविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।यसैगरी, साना किसान कृषि सहकारी संस्था लिमिटेड विष्णुपुर, सिराहाका सञ्चालक समितिका तत्कालीन सदस्य राजेश्वरप्रसाद सिंह, सो सहकारीको विष्णुपुरका धान प्रशोधन उद्योग स्थापनाको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार यादव, कोषाध्यक्ष कविताकुमारी र सचिव राम बाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार उनीहरूविरुद्ध विष्णुपुर गाउँपालिका वडा नंं. १ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड, विष्णुपुरमा धान प्रशोधन उद्योग स्थापना कार्यमा सार्वजनिक खरिद नियमावली विपरीतको कार्य गरी गराइ रकम भुक्तानी गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।








