मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ स्थित सिमखोलाको बाढीले बगाएको स्कुटर फेला परेको छ। सोमबार दिउँसो काठमाडौंबाट हेटौँडातर्फ आउँदै गर्दा कुलेखानी ड्याममुनि सिमखोलामा आएको बाढीले उक्त स्कुटर बगाएको थियो।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत इन्द्रसरोबर–३ को सिमखोलामा आएको तीव्र बाढीले बा.प्र. ०२–०३२ च ८०५४ नम्बरको होन्डा एभिएटर स्कुटर सडकबाट बगाएको हो।
प्रहरीका अनुसार स्कुटर सडकबाट करिब २०० मिटर तल खोलामा मंगलबार बिहान करिब १० बजे फेला पारिएको हो।
स्कुटर निकाल्ने क्रममा त्यसभित्र सर्लाहीका महेशकुमार कार्कीको नाममा रहेको ब्लुबुक पनि भेटिएको प्रहरीले जनाएको छ। यद्यपि स्कुटर चालक अझै बेपत्ता छन्।
चालकको खोजीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको टोलीले घटनास्थलमा तीव्र खोजी कार्य भइरहेको जानकारी दिएको छ।








