बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने कि अझै केही दिन सत्ताको कुर्सी तताइरहने भन्ने विषयमा नेकपा एमालेले फेरि पनि ‘छलफलमै छ’ भन्ने पुरानै निष्कर्ष दोहोर्याएको छ।
सोमबार कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकार छोड्ने विषयमा तत्काल निर्णय नगरी “एक–दुई दिन अझै सोचौं न!” भन्ने शैलीमा बैठक टुंग्याएको बताइन्छ।
नेपाल कम्युनिस्ट पार्टी एमाले बागमतीका संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार सरकारबाट राजीनामा दिने कि नदिने भन्ने विषयमा अझै ‘फाइनल एपिसोड’ बाँकी छ। “छलफल जारी छ, केन्द्रले पनि स्क्रिप्ट पठाएको छैन,” भन्ने संकेतसहित उनले निर्णय केही दिन पछि धकेलिएको जानकारी दिए।
उता नेपाली कांग्रेससँगको गठबन्धन भने कागजमा अझै जीवित छ। सम्बन्ध ‘कम्प्लिकेटेड’ अवस्थामा पुगे पनि ‘अफिसियल ब्रेकअप’ भने घोषणा भएको छैन। पार्टीको माथिल्लो तहमा गठबन्धनलाई नयाँ ढंगले अघि बढाउने कि पुरानै शैलीमा राख्ने भन्ने विषयमा मन्थन चलिरहेको बताए छ।
राजनीतिक वृत्तमा भने यो अवस्थालाई “न सरकार छोड्ने आँट, न सरकारमै बस्ने स्पष्टता” को उत्कृष्ट नमुना भन्दै टिप्पणी हुन थालेको छ। अब बागमतीको राजनीति निर्णयतर्फ मोडिन्छ कि फेरि अर्को बैठकले “अझै छलफल गरौं” भन्ने निष्कर्ष निकाल्छ, त्यो भने हेर्न बाँकी छ।








