सुनसरी घटनापछि उत्पन्न परिस्थितिका साथै बागमती प्रदेशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गर्न बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठक शुक्रबार बिहान सम्पन्न भएको छ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा सुनसरी घटनापछि कोशी र मधेश प्रदेशमा देखिएको हिंसात्मक गतिविधि तथा त्यसको सम्भावित प्रभावबारे विस्तृत छलफल भएको थियो।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सुनसरी घटनापछि सिर्जित परिस्थिति अन्य प्रदेशमा समेत फैलन सक्ने भएकाले यस्ता हिंसात्मक गतिविधि हुन नदिन सबै सुरक्षा निकाय र सरोकारवालाबीच प्रभावकारी समन्वय गर्न निर्देशन दिनुभएको छ। उहाँले सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सुरक्षा संयन्त्रले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
मुख्यमन्त्री बानियाँले आफू बागमती प्रदेश सरकारको प्रमुखका साथै नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेकाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न आवश्यकताअनुसार प्रदेशका राजनीतिक दलका नेता तथा धार्मिक संघ–संस्थाका प्रतिनिधिसँग निरन्तर संवाद गरिरहेको जानकारी दिनुभयो।
बैठकमा बागमती प्रदेशमा कार्यरत विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्रदेशको वर्तमान सुरक्षा अवस्था, अपनाइएका सुरक्षा उपाय तथा आगामी रणनीतिबारे आ–आफ्नो निकायको कार्यप्रगति प्रस्तुत गरेका थिए।
भर्चुअल बैठकमा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री शिवराज अधिकारी, प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश सचिव कृष्णबहादुर शाही, नेपाली सेनाको मध्य पृतना बागमती प्रदेशका प्रमुख, नेपाल प्रहरीको डिआईजी कार्यालय हेटौंडाका प्रमुख, सशस्त्र प्रहरी बल बागमती प्रदेशका प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेशका प्रमुखको सहभागिता रहेको थियो।








