बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि आफूलाई समर्थन गर्न वा नयाँ सरकार गठनका लागि यथाशीघ्र बहुमत जुटाउन प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आग्रह गरेका छन्।
सोमबार ललितपुरस्थित प्रदेश सुशासन केन्द्र, जाउलाखेलमा आयोजित सर्वदलीय बैठकमा उनले सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अन्योलमा परेको बताए। एमाले र नेकपाले बहुमत पुर्याए आफू मार्गप्रशस्त गर्न तयार रहेको दोहोर्याउँदै हालसम्म बहुमत नपुगेकाले निकास खोज्न सर्वदलीय बैठक बोलाइएको उनले स्पष्ट पारे।
मुख्यमन्त्री बानियाँले अहिलेको अवस्थाले सरकारलाई निर्णयविहीन बनाएको उल्लेख गर्दै आफूलाई समर्थन भए तत्काल विश्वासको मत लिएर राजनीतिक स्थिरता कायम गर्न तयार रहेको बताए। उनले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्दै नागरिकका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।
उनले एमालेलाई समर्थन फिर्ताको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै अन्य दलहरूलाई सरकारमा सहभागी नभए पनि स्थिरताका लागि समर्थन गर्न अनुरोध गरे। यसका लागि उनले प्रदेशसभामा रहेका सबै दललाई लिखित आग्रहसमेत गरेका छन्।
बैठकमा पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बहादुरसिंह लामा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल, राप्रपाका उद्धव थापा, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र गोसाईं, हाम्रो नेपाली पार्टीका शैलेन्द्र बज्राचार्य, नेकपाका रत्न ढकाल र एमालेका मधुसुदन पौडेललगायतले प्रदेशको राजनीतिक अस्थिरता अन्त्यका लागि पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।








