हेटौंडा–५ स्थित पुष्पलाल चोकमा रहेको ग्यास डिलरमा बुधबार बिहानैदेखि उपभोक्ताको लामो लाइन लागेको छ। ग्यास लिन घण्टौं लाइनमा बस्नुपर्दा सर्वसाधारणसँगै विद्यार्थीसमेत प्रभावित भएका छन्। कतिपय विद्यार्थी लाइनका कारण कलेज जानसमेत नपाएको गुनासो गरेका छन्।
स्थानीयवासीले ग्यासको वास्तविक अभाव भएको हो वा वितरण व्यवस्थापनमा समस्या भएको हो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जानकारी दिनुपर्ने र नियमित अनुगमन गर्नुपर्ने माग गरेका छन्।
यस विषयमा हेटौंडा–३ स्थित सहारा ग्यास इन्डस्ट्रिजका प्रमुख खड्गबहादुर थापाले पछिल्लो समय ग्यासको खपत सामान्य अवस्थाभन्दा करिब २५ प्रतिशतले बढेको जानकारी दिए। उनका अनुसार माग किन अस्वाभाविक रूपमा बढिरहेको छ भन्ने विषय अझै यकिन हुन सकेको छैन।
प्रमुख थापाले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने प्रयास भइरहेको बताउँदै वितरणलाई सकेसम्म छिटो सामान्य अवस्थामा ल्याउन आवश्यक पहल भइरहेको जानकारी दिए।








