हेटौँडा/ रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मकवानपुरका विभिन्न राजनीतिक दलहरूले सोमबार हेटौँडामा संयुक्त रूपमा पुष्प अर्पण कार्यक्रम आयोजना गरेका छन्।

हेटौँडा–१०, बुद्धचोकस्थित भीमसेन मन्दिर अगाडि आयोजित कार्यक्रममा बाढीमा परी बेपत्ता तथा सम्पर्कविहीन भएका व्यक्तिहरूको सकुशल उद्धार, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले विपद्मा परेका नागरिकको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका थिए। उनीहरूले बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै विपद्को यस दुःखद् घडीमा राज्यका सबै संयन्त्र र नागरिक समाज एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेती, प्रदेश सांसद एकलाल श्रेष्ठ, प्रेमबहादुर पुलामी, लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलगायतको उपस्थिति थियो।
त्यस्तै, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, संघ–संस्थाका प्रतिनिधि, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार तथा उद्योग व्यवसायीहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो।
संयुक्त रूपमा आयोजित उक्त पुष्प अर्पण कार्यक्रममार्फत मकवानपुरका राजनीतिक दल तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले भोटेकोशी बाढीबाट पीडित तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।









