हेटौँडा/निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा भूमिगत राजनीतिक नेताहरूलाई आफ्नै घरमा आश्रय तथा संरक्षण दिएकी मकवानपुरकी तीलकुमारी ढकाल ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान–२०८३’ बाट सम्मानित भएकी छन।
जननेता मदनकुमार भण्डारीको हीरक जयन्ती तथा मदन भण्डारी फाउण्डेसनको २७औँ स्थापना दिवसका अवसरमा सोमबार हेटौँडामा आयोजित कार्यक्रममा ढकाललाई सम्मान गरिएको हो।
मदन भण्डारी फाउण्डेसन मकवानपुरले स्थापना गरेको उक्त सम्मान बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले संयुक्त रूपमा प्रदान गरे।
वि.सं. २००१ साउन २५ गते बकैया गाउँपालिका–११ मा जन्मिएकी ढकालले पञ्चायती शासनको कठोर अवस्थामा मकवानपुरको तत्कालीन विकट क्षेत्र ठिङ्गनमा प्रतिबन्धित पार्टीका भूमिगत नेताहरूलाई आफ्नै घरमा सुरक्षित आश्रय दिएकी थिइन्। निरंकुशताविरुद्धको आन्दोलनमा उनले पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको फाउण्डेसनले जनाएको छ।
कार्यक्रममा जननेता मदन भण्डारीको स्मरणमा दीप प्रज्वलनसमेत गरिएको थियो। फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ववामपन्थी नेता केदार न्यौपाने, भीमफेदी गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले मकवानपुरका अध्यक्ष हिदम लामा, नेकपा एमाले महिला संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफलेलगायतको उपस्थिति रहेको थियो।








