अविरल तथा भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भई सडकमा सवारी चाप बढेपछि मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी आवागमनको समय तालिका निर्धारण गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार सूचना जारी गर्दै त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँ हुँदै हेटौँडा आउने सवारीका लागि छुट्टाछुट्टै समय तोकेको हो।

हेटौँडाबाट काठमाडौँ जाने सवारीका लागि चौकीटोलबाट असोज ११ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म, असोज १२ गते बिहान ४ बजेदेखि १० बजेसम्म तथा राति ९ बजेदेखि १३ गते बिहान १ बजेसम्म र असोज १३ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइत्यस्तै, काठमाडौँ–हेटौँडा आउने सवारीका लागि सिमभञ्ज्याङ चौकीबाट असोज ११ गते राति १० बजेदेखि १२ गते बिहान १ बजेसम्म, असोज १२ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म र असोज १३ गते बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै आवागमन गर्न दिइने प्रशासनले जनाएको छ।
प्रशासनले इन्धन तथा एलपी ग्यास बोकेका बाहेक अन्य ११ मिटर लम्बाइ सम्मका सवारी साधनले मात्र सडकमा चल्न पाउने र १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीलाई उक्त सडकमार्गमा पूर्णरूपमा निषेध गरेको छ।
प्रशासनले तोकिएको समय र मापदण्ड पालना गरी सुरक्षित यात्रा गर्न चालक, व्यवसायी तथा यात्रुलाई आग्रह गरेको छ।








