हेटौँडा/ नेपाली कांग्रेस मकवानपुरको प्रदेश सभा क्षेत्रीय अधिवेशन मंगलबार हुने भएको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गत शुक्रबारका लागि तय गरिएको अधिवेशन अविरल वर्षा र प्रतिकूल मौसमका कारण स्थगित गरिएको थियो
मौसम पूर्वानुमान महाशाखाले केही दिन वर्षा हुनसक्ने सूचना जारी गरेपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार अधिवेशनको मिति परिवर्तन गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ।
संशोधित कार्यतालिकाअनुसार असोज १३ गते मंगलबार प्रदेश सभा क्षेत्रीय अधिवेशन र असोज १४ गते बुधबार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमितिका सभापति, उपसभापति, सचिव, सहसचिवसहित सदस्य तथा प्रदेश प्रतिनिधि निर्वाचित हुनेछन्। प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिको प्रस्तावमा सदस्यहरूमध्येबाट कोषाध्यक्ष चयन गरिनेछ भने सात जना सदस्य मनोनित गर्ने व्यवस्था छ।
मकवानपुरका चार प्रदेश सभा निर्वाचन क्षेत्रमा गरी २ हजार ४९६ क्षेत्रीय प्रतिनिधि अधिवेशनका मतदाता रहेका छन्। प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश सभा (क) मा ७१२ र (ख) मा ३५७ तथा क्षेत्र नं. २ को (क) मा ७३४ र (ख) मा ६९३ क्षेत्रीय प्रतिनिधि रहेका छन्।
प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट विधानअनुसार २४ जना प्रदेश प्रतिनिधि समेत निर्वाचित हुनेछन्।
यसअघि कांग्रेसले मकवानपुरका नगर तथा गाउँपालिका अधिवेशन सम्पन्न गरिसकेको छ। अधिवेशनबाट हेटौँडा उपमहानगरपालिकामा रामकृष्ण कोइराला, थाहा नगरपालिकामा राजेन्द्रभक्त श्रेष्ठ, भीमफेदीमा मित्रबन्दु सिंजाली, मकवानपुरगढीमा आकाशकुमार गोले, बकैयामा गोपालबहादुर न्यासुर, बागमतीमा चोकबहादुर ठाडा मगर, राक्सिराङमा देव लामा, मनहरीमा राजकुमार श्रेष्ठ, कैलाशमा उदास ब्लोन लामा र इन्द्रसरोवरमा सुमन श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्।








