हेटौंडा/नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले हेटौंडामा सम्पर्क कार्यालय स्थापना गरेको छ। हेटौंडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्कमा रहेको एमाले पार्टी कार्यालय परिसरमा बुधबार प्रदेश संगठन कमिटीको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो।
प्रदेश संगठन कमिटीका अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले कार्यालय उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै सचिव बस्नेतले राजनीतिक चेतना, सैद्धान्तिक तथा वैचारिक ज्ञान र संस्थागत अनुभवबिनाको नेतृत्वले छोटो समयमै मुलुकलाई सही दिशामा अघि बढाउन नसक्ने बताए। राज्य सञ्चालनको जिम्मेवारी पाउने नेतृत्वमा राजनीतिक चेतनासँगै संस्थागत अनुभव र वैचारिक स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो।
बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको कार्यशैलीप्रति समेत प्रश्न उठाए। बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको छ महिनामै मुलुक कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने विषय क्रमशः स्पष्ट हुँदै गएको उनले दाबी गरे।
उनले विगतमा दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको दाबी गरेको विषयलाई सामाजिक सञ्जालमा ठूलो मुद्दाका रूपमा उठाइए पनि अहिले ‘ग्रे जोन’को रिपोर्टमा उल्लेख भएका विषयबारे पर्याप्त बहस हुन नसकेको बताए। उक्त रिपोर्टमा उल्लेखित विषयलाई जनतामाझ लैजानुपर्ने उनले धारणा राखे।
पछिल्लो समय डिजिटल प्लेटफर्म एमालेविरुद्ध प्रयोग भइरहेको दाबी गर्दै बस्नेतले सामाजिक सञ्जालमा पार्टीविरुद्ध सञ्चालन भइरहेका अभियानको सामना गर्न पार्टीका नेता तथा कार्यकर्ता स्वयं डिजिटल माध्यममा सक्रिय हुनुपर्ने बताए। त्यसका लागि छुट्टै जनशक्तिको मात्र भर पर्नुभन्दा नेता–कार्यकर्ताले नै पार्टीको धारणा र विचार प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा एमाले मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राणा, केन्द्रीय सदस्य महेश बर्तौला, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामा, अखिल नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्ले तथा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देललगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
नवनिर्मित सम्पर्क कार्यालयमार्फत प्रदेश संगठन कमिटीका गतिविधि तथा सांगठनिक कामलाई समन्वय र प्रभावकारी रूपमा अघि बढाइने एमालेले जनाएको छ।








