जिम्बा फिल्म प्रोडक्सनको १५औँ प्रस्तुति तथा मङ्गलीमाया स्याङतानको निर्माणमा बन्न लागेको नयाँ तामाङ चलचित्र ‘मयुङ अर्थात् माइती’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।
निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गरेको हो । चलचित्रको निर्देशन निमा लामा तामाङले गर्दैछन् । निर्माण पक्षका अनुसार चलचित्रको छायांकन आगामी दसैं तथा तिहारपछि सुरु हुनेछ। काठमाडौं आसपासका विभिन्न स्थानमा चलचित्रको छायांकन गर्ने तयारी गरिएको छ। यस चलचित्रमा पेमा लामा योन्जन र मीनकुमार वाइबा निर्माताका रूपमा रहेका छन् भने आरकेबी लामाले कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेका छन् ।
चलचित्रमा जय स्याङतान, सिताराम गोले, कल्पना वाइबा, करिशा वाइबा, हिरोज लोप्चन, मनिष रेस खड्का, गोम्बो तामाङ लो, सुनलाल वाइबा, मंगलसिंह ग्यावा र छविलाल बोम्जन लगायतका कलाकारको मुख्य अभिनय रहनेछ। चलचित्रका गीतहरूमा शब्द तथा संगीत स्वयं निर्देशक निमा लामा तामाङकै रहेको छ । ती गीतहरूमा विशाल काल्तन, शुभ तामाङ, जितु लोप्चन र सुमिना लोको स्वर रहनेछ भने एरेन्जरका रूपमा चाँद सिंह र बुद्ध स्याङ्बा रहेका छन् ।
निर्देशक लामाका अनुसार चलचित्र ‘मयुङ अर्थात् माइती’मा चेली र माइतीबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाइएको छ। यससँगै पारिवारिक सम्बन्ध तथा श्रीमान्–श्रीमतीबीचको सम्बन्धका विभिन्न पक्षलाई पनि कथामार्फत प्रस्तुत गरिने उनले बताए। यसअघि आफूले निर्देशन गरेका चलचित्रभन्दा ‘मयुङ अर्थात् माइती’लाई अझ परिष्कृत र उत्कृष्ट बनाउने प्रयास रहने निर्देशक लामाको भनाइ छ। समग्रमा चलचित्रले तामाङ समुदायको पारिवारिक सम्बन्ध र सामाजिक परिवेशलाई कथाको माध्यमबाट पर्दामा उतार्ने निर्माण पक्षले जनाएको छ।








