हेटौंडा/चाडपर्व नजिकिएसँगै हेटौंडा बजार क्षेत्रमा बढ्ने सवारी चाप, अव्यवस्थित पार्किङ र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न हेटौंडा उपमहानगरपालिकाले चौकीटोलस्थित रोपवे चौरमा एकीकृत सुमो पार्क सञ्चालनको तयारी गरेको छ।

मुख्य बजारका विभिन्न सडक, चोक र सडक किनारमा छरिएर रहेका टाटा सुमो तथा विद्युतीय सवारीका काउन्टरका कारण सडक साँघुरो हुनुका साथै यात्रु चढाउने–ओराल्ने क्रममा ट्राफिक जामको समस्या बढ्दै आएको थियो। यही समस्या समाधान गर्न वडा नम्बर १ स्थित रोपवे चौरलाई पुनः प्रयोगमा ल्याएर सबै सुमो तथा सम्बन्धित सवारीका काउन्टरलाई एउटै स्थानमा व्यवस्थापन गर्न लागिएको हो।
सोमबारदेखि पार्क सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। पार्क क्षेत्रमा सवारी साधन राख्न सहज हुने गरी चौर सम्याउने काम सम्पन्न भइसकेको छ भने यातायात व्यवसायीका काउन्टर सञ्चालनका लागि आवश्यक संरचना पनि निर्माण गरिएको छ।
पार्क सञ्चालनमा आएपछि काठमाडौं तथा मकवानपुरको उत्तरी क्षेत्रतर्फ सञ्चालन हुने सुमोलगायतका सवारी साधन एउटै स्थानबाट व्यवस्थापन हुनेछन्। यात्रुले पनि त्यहीँबाट टिकट लिने तथा सवारी चढ्ने–ओर्लने व्यवस्था मिलाइँदै छ।
यसअघि हेटौंडाको मुख्य बजार, बसपार्क, चौकीटोल ओरालो, टीसीएन रोड र संगमचोकलगायतका क्षेत्रमा सुमो तथा बसका काउन्टर सञ्चालन हुँदै आएका थिए। सडक आसपासमै सवारी पार्किङ तथा यात्रु चढाउने–ओराल्ने गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको थियो।
रोपवे चौरको केही दिनअघि मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पनि अनुगमन गरेका थिए। उनले हेटौंडाको ट्राफिक व्यवस्थापनका लागि खुला स्थानमा सवारी साधनलाई व्यवस्थित गर्नु आवश्यक रहेको भन्दै रोपवे चौरबाट सुमो सञ्चालन गर्ने व्यवस्था प्रभावकारी ढंगले अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाका अनुसार बजार क्षेत्रमा सडक आसपास सवारी राख्ने र यात्रु चढाउने–ओराल्ने गतिविधिबारे जनगुनासो बढ्दै आएपछि रोपवे चौरलाई पुनः सञ्चालनमा ल्याउन लागिएको हो। यसअघि पनि सुमो पार्क सञ्चालनमा ल्याइएको भए पनि विभिन्न कारणले निरन्तरता पाउन सकेको थिएन। अहिले पार्कलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउँदा बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा सुधार आउने मेयर लामाको भनाइ रहेको छ।








